Logo

एक–अर्काप्रति दोषारोपण बन्द गरौं, देशलाई समद्ध बनाउने जिम्मेवारी नभूलौं : सांसद डा. महतो



काठमाडौं, ११ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले सदनभित्र एक अर्कालाई दोषारोपण गर्ने र होच्याउने प्रवृत्ति हाबी भएको भन्दै सच्याउनुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीभन्दा माथि कहिल्यैपनि उठ्न नसकिएको टिप्पणी गरे । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताएका हुन् ।

उनले भने,‘यो सदनभित्र म आउँदै गर्दा जनता खासगरी मलाई निर्वाचित गरेर पठाउने जनतासँग मैले सम्मानित सदनमा जाँदै गर्दा केही राम्रो कुरा सिक्छु र एकमत भएर जनताका समस्या समाधान गर्छौं भनेर वाचा गरेर आएको थिएँ । तर, यहाँ आउँदै गर्दा एक अर्कालाई दोषारोपण गर्ने, होच्याउने काम भयो । आफ्नो पार्टीको स्वार्थभन्दा माथि कहिल्यै पनि उठ्न सकेको देखिएन ।’

उनले जनताले संविधानमा व्यवस्था भएबमोजिमका मौलिक हकअनुसार स्वच्छ खानेपानी नपाएको गुनासो पोखे । अहिलेपनि बच्चाहरुको लागि सहज शिक्षाको वातावरण बनाउन नसकिएको उनले उल्लेख गरे । उनले भने,‘अहिलेपनि स्वास्थ्योपचारमा जनताको सहज पहुँच छैन् । किसानले समयमै मल, खाद्य पाउन सकेका छैनन् । सिचाईंको पनि राम्रो व्यवस्था हुन सकेको छैन् । यी जनतासँग प्रत्यक्ष जोडिएका विषयमा यो सदनमा कहिल्यैपनि बहस गरेको देखिएन । यो सदनमा अर्थतन्त्रको बारेमा कहिल्यैपनि रचनात्मक कुरा भएन ।’

उनले देशको अर्थतन्त्र बलियो र देश धनी भएको भए अहिले देखिएको एक अर्कालाई होच्याउने काम पनि बन्द हुने थियो भन्ने धारणा राखे । उनले आफूहरुको काँधमा देशलाई समृद्ध र जनतालाई समृद्धशाली बनाउने जिम्मेवारी रहेको भन्दै त्यहीअनुसारको भूमिकाको अपेक्षा गरे । उनले जनतालाई शीरमा राखेर संविधान संशोधन गर्दामात्रै देश र जनताको हित हुने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्