Logo

‘संविधान संशोधनमा प्रतिपक्षको पनि सहमति आवश्यक छ’



काठमाडौँ, ११ भदौ । सांसद नारायण प्रकाश साउदले नेपाली कांग्रेस र नेपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साउदले भने, “हामीले २०७२ सालमा संविधान ल्याइसकेपछि पटक पटक सरकार परिवर्तन भएका छन्, स्थिरताभन्दा पनि अस्थिरता छाएको छ, यो सृङ्खला प्रदेशमा पनि देखिएको छ ।”

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने बताउँदै संशोधनका लागि विभिन्न पार्टी र पार्टिभित्रका दलहरुबीच, सरकार र प्रतिपक्षबीचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ छ । सांसद साउदले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गनुपर्ने बताए।

लोकतन्त्र, समावेशीता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउदले संविधान संशोधनको सवालमा सबै दलहरु प्रतिबद्ध हुनुपर्ने बताए । संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दलपनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

यस्तै सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोध गर्नुपर्ने बताए ।

“संविधान संशोधनको विषय कांग्रेस र एमालेबीच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्यो भन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुने छ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्