Logo

संविधानलाई ‘छद्यमभेषी र भ्रमको दस्तावेज’ भनेका प्रभु साहको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, ११ भदौ । आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरू भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रभु साहले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने बुझिएको छ । केन्द्रीय कमिटीको यो बैठकले मुलुकलाई तेस्रो जनआन्दोलनको मार्गमा डोर्याउनेगरि निर्णय लिने अध्यक्ष साहले जानकारी दिए । साहले प्रस्तुत गरेको राजनीतिक डकुमेन्ट ‘दला दलतन्त्रको भण्डाफोर गरौं, जनआन्दोलनको दिशामा अघि बढौं’ नारा राखिएको छ ।

साहको राजनीतिक प्रतिवेदनमा अहिले देशको समग्र अवस्था नै छद्यमभेषी रहेको दाबी गरिएको छ । यही छद्यमभेषी अवस्थाले देशको समग्र विकासको गति पनि अवरुद्ध भएको उनको दाबी छ । प्रतिवेदनमा भनिएको छ,‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रहरु अन्यौलग्रस्त एवम् जटिल बन्दैछन् । आखिर किन देशमा राजनीतिक बदलावपश्चात् पनि अवस्थामा सुधार आएन ? राजनीतिक अवस्थाबारे किन समान बुझाई हुन सकिरहेको छैन् र समाजको विकासक्रमले किन फड्को मार्न सकेन ? यी तमाम प्रश्नहरुको सही जवाफ ठोस परिस्थितिको ठोस विश्लेषणबिना सम्भव छैन् ।’

साहले आफ्नो डकुमेन्टमा संवैधानिक व्यवस्थाबारे चर्चा गर्दै नेपालको संविधानमा लोकतन्त्र देखाउनलाई मात्र भएको र यसको चपाउने दाँत बास्तवमा दलतन्त्र नै भएको दाबी गरेका छन् । उनले भनेका छन्,‘बाहिर लोकतान्त्रिक व्यवस्था भनिएपनि भित्र दलीय शासन प्रणाली नै हो । नेपालको संवैधानिक व्यवस्थालाई नियाँलेर हेर्नुहुन्छ भने संघीयता रुपमा मात्र छ, सारमा अझ केन्द्रिकृत शासन छ । अधिकार र पहिचानविहीन प्रदेशहरु राखिएको छ, यसलाई संघीयता भन्न मिल्दैन् ।’ उनले नेपालको अहिलेको संविधानमाथि नै प्रश्न उठाएका छन् । संविधानमा सबैथोक भएपनि प्राप्त गर्ने कुरा केही पनि नभएको रहेको उनको दाबी छ ।

उनको प्रतिवेदनमा संविधानबारे भनिएको छ,‘यो संविधानमा के छैन् ? सबैथोक छ, तर प्राप्त गर्न नसक्ने कुरा । समाजवादपनि छ, चरम पुँजीवाद पनि छ । राष्ट्रवाद र राष्ट्रघात दुवै छ । यतिसम्म की शासक जातिलाई आरक्षणको अधिकारपनि यो संविधानमा छ । यसरी हाम्रो संविधान छद्यमभेषी भ्रमको दस्तोवज हो । देशको नेतृत्व गर्ने शासन व्यवस्था नै छद्यमभेषी भएपछि देश र जनताको भविष्य कस्तो हुन्छ ? विचार गर्न जरुरी छ । देश संकटग्रस्त एवम असफल हुनुको मुख्य कारण नै नेपालको छद्यमभेषी संवैधानिक व्यवस्था हो ।’



प्रतिक्रिया दिनुहोस्