Logo

भ्रष्टाचारबाट उन्मुक्ति दिन पाँच वर्षे हदम्याद ल्याईएको हो, यो विद्येयक तत्काल फिर्ता गरिनुपर्छ : सांसद केसी



काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा पाँच वर्षको हदम्याद राखिएकोमा आपत्ति जनाएका छन् । उनले भ्रष्टाचारबाट उन्मुक्ति दिनको लागि यस्तो प्रावधान राखिएको भन्दै तकाल विद्येयक फिर्ता गरिनुपर्ने माग गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद केसीले भने,‘पहिलो कुरा भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्ष राख्ने कुरा छ, यो अत्यन्तै दुर्भाग्यपूर्ण छ । यो के को निम्ति ल्याईएको हो ? यो के लोकतन्त्रको निम्ति, सुशासनको निम्ति ? यो सामाजिक न्यायको निम्ति ? यो विकासको निम्ति हो ? यो कसको निम्ति ल्याईएको हो ? यो केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने र त्यसलाई प्रोत्साहन दिन ल्याउने भएको हुनाले यो विद्येयक तत्काल फिर्ता गरोस । यदि यो सरकार सुशासनको पक्षमा छ भने यो विद्येयक फिर्ता गरोस । यदि होईन यसको रक्षाको निम्ति सरकार हो भने संसदभित्र विवेक प्रयोग गर्न दिईयोस । संसारभरि नै विवेक प्रयोग गर्ने दिने कुरा हुन्छ ।’

उनले भ्रष्टाचारका सबै चर्चित काण्डहरुको बारेमा अब प्रधानन्यायाधीश भएको व्यक्तिको नेतृत्वमा न्यायिक आयोग गठन गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्