Logo

देशभरिका ५० हजार विद्यार्थीसँग लिईएको दोहोरो भर्ना शुल्क फिर्ता गराउँछौं : नेविसंघ अध्यक्ष शेर्पा (भिडिओसहित)



काठमाडौं, १३ भदौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले युवाहरुलाई स्वदेशमै राख्ने उद्देश्यले आफ्नो संगठनले पाठ्यक्रममा नै परिमार्जन गरेर नैतिक शिक्षा, राष्ट्रवादी शिक्षा र डिजिटल लिटरेसी र फाईनान्सियल लिटरेसीको अभियान चलाउने बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामीले देशमा विद्यमान आर्थिक समस्या समाधानको लागि पनि देशव्यापी रुपमा ७५३ वटै स्थानीय तहमा स्किल अफ फ्राईडे अभियान लिएर जाँदैछौं । यो कार्यक्रम विशेषतः कक्षा १२ उत्तिर्ण गरेकाहरुलाई केन्द्रित हुनेछ । उनीहरुलाई सिपयुक्त बनाउने हो ।’

उनले संगठनले देशका भुईंमान्छेका छोराछोरीलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि गम्भीर र नेतृत्वदायी पहलकदमी लिईरहेको पनि विश्वास दिलाए । उनले विश्वविद्यालयका गुणस्तर सुधार गर्नको लागि नेविसंघले प्रभावकारी कदम चालिरहेको दाबी गरे ।

उनले विद्यार्थीहरुसँग दोहोरो भर्ना शुल्क लिईएको भन्दै त्यसको खारेजी गर्न नेविसंघले अभियान नै चलाएको सुनाए । नेविसंघको आन्दोलनमार्फत देशव्यापी रुपमा ५० हजारभन्दा बढि विद्यार्थीहरुसँग लिईएको दोहोरो भर्ना शुल्क फिर्ता गराएरै छोड्ने घोषणा गरे । file photo



प्रतिक्रिया दिनुहोस्