Logo

मोहनाको कटानले भजनी जोखिममा



भजनी (कैलाली), १४ भदौ । भजनी नगरपालिका–५ पगियाप्रसारका महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोही छैन । मोहना नदीले कटान गर्दै घर पूर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन । बर्सेनि नदीको कटानले घरसँगै जोडिएको सडक आधा कटान गरिसकेको छ ।

सडक कटान भए नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम रहेको स्थानीय चन्द्र बोहरा बताँछन् । मोहना नदीको कटानले बर्सेनि आजित बन्दै आएका उनलाई कुन दिन पूर्ण विस्थापित भएर जानुपर्ने हो भन्ने कुराको चिन्ता छ । बर्सेनि नदी कटान गर्दै बस्ती पस्न थालेपछि चन्द्रजस्तै सयौँ परिवार नदीको कटानले आजित बनेका छन् ।

उनका अनुसार जीवनलाई हत्केलामा राखेर मोहनाको तटीय क्षेत्रका नागरिकले जीवनयापन गरिरहेका छन् । स्थानीयको हजारौँ बिघा जग्गाधनीपुर्जा भएको जमिन बगर बनिसकेको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दै आएको छ ।

“नदी हिजो बग्ने ठाउँ देखायो भने आज कसैलाई पत्याउन गाह्रो हुन्छ । बस्तीमा नदी सर्ने हामी नदीबाट बच्नका लागि घर सार्ने गरेका छौँ । हाम्रो हत्केलामा जीवन छ”, उनी भन्छन्, “अब त सर्नका लागि ठाउँ छैन । अन्य ठाउँमा जग्गा छैन ।” त्यस क्षेत्रका नागरिक वर्षा सुरु भएपछि दुःखका दिन सुरु भएको महसुस गर्दै आएको छ । मोहनाको कटानले कैयौँ परिवार सुकुम्बासी बनेको स्थानीयको भनाइ छ ।

सोही ठाउँका झङ्करबहादुर साउद आकाशमा कालो बादल मडारिएपछि रातभर जाग्राम बस्ने गरेको बताउँछन् । नदी बस्तीसम्मै पुगेपछि नदीको पानीको बहाव हेर्न रातिको समयमा स्थानीय परिचालित गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।

“सुरक्षित स्थानमा जानलाई त्यस्तो ठाउँ छैन । यतै बस्नलाई कतिबेला के हुन्छ त्यसको कुनै जानकारी छैन”, उनले भने, “हाम्र पीडा सुन्ने कोही छैन । जसोतसो भगवान् भरोसा आजसम्म सकुशल छौँ भनौँ भोलि कसले देखेको छ र ?”, उनले नदी नियन्त्रणको आशा गर्दागर्दै दिन व्यतित भएको गुनासो गरे ।

नागरिकहरू बर्सेनि पीडामा जीवन बिताउन बाध्य हुँदा पनि राज्यले बेखबर भएको दुखेसो सिद्धराज जैशीको छ । राहत, उद्धार तथा अनुगमनका लागि बर्सेनि पुग्ने सरकार नदी नियन्त्रण गर्न आउन नसकेको उनको भनाइ छ ।

“नागरिक पीडामा हुँदा राहत र उद्धारका लागि सबैले पहल गर्छन् । त्यसैगरी नदी नियन्त्रणका लागि पहल गरेको भए सायद भजनीले डुबानबाट छुटकारा पाउथ्यो कि ?”, उनी भन्छन् “हामीलाई राहत चाहिएको छैन । हामीलाई भजनीको डुबानको दीर्घकालीन समाधान चाहिएको छ । हामीलाई त्रासरहित जीवनयापन गर्ने आधार चाहिएको छ ।”

भजनी चारैतिरबाट नदीले घेरिएको नगरपालिका हो । यहाँ कान्द्रा, मोहना, काँढा र पथरैया नदी भजनीसँग जोडिएका छन् । ती नदीको पानीको सहज निकास हुन नसक्दा भजनी डुबानमा पर्दै आएको छ । हजारौँ नागरिक बाढी र डुबानका कारण बर्सेनि विस्थापित हुने गरेका छन् ।

“बृहत् योजना ल्याएर चारै नदी नियन्त्रण गर्न सकेमात्र भजनीलाई डुबान र कटानको जोखिमबाट बचाउन सकिन्छ ।” स्थानीय सूर्यबहादुर चौधरी भन्छन्, “होइन भने खेतीयोग्य जमिन बगर बन्ने क्रम रोकिने छैन । नागरिकहरूले सहजरूपमा जीवनयापन गर्न सक्ने छैनन् ।”

भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले सङ्घीय सरकारका प्रतिनिधि आएर कैयौँपटक नदी नियन्त्रणका लागि सर्भे गरेर गएको बताउँदै योजनासहित कोही नफर्केको गुनासो गरे । उनले नगरपालिकाको स्रोतसाधनले नदी नियन्त्रण गर्न सक्ने स्थिति नरहेको बताउँदै सङ्घीय सरकारको बृहत् योजनाको आशामा भजनी रहेको बताए ।

“हामीले हाम्रो स्रोतबाट हुनसक्ने काम गरेका छौँ । त्यो भनेको जैविक तटबन्धमात्रै हो । त्यसका लागि गत वर्ष पनि १६ लाख खर्च भएकै हो । तर अहिले त्यो जैविक तटबन्ध कहाँ भएको हो थाहा नपाउने स्थिति छ ।” वडाध्यक्ष बुढाले भने, “यसपटक पनि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेका छौँ । आशा गरौँ बजेट आउँछ कि ?”

उनका अनुसार मोहनाको कटानबाट करिब दुई सय ५० परिवार उच्च जोखिममा छन् । नदीले धार परिवर्तन गर्दा बस्तीसँगै हजारौँ खेतीयोग्य जमिन थप बगर बन्ने देखिएको छ । अहिले पनि स्थानीय सरकारसँगको समन्वयमा जैविक तटबन्धको काम भइरहेको छ ।

“जहाँ बढी जोखिम छ, त्यहाँ स्थानीयको जनश्रमदानबाट जैविक तटबन्धको काम भइरहेको छ”, वडाध्यक्ष बुढा भन्छन्, “जसोतसो यो बर्खा कटे त्यसपछि केही विकल्पमा काम गर्न सकिन्थ्यो”, अहिले पनि भजनी त्रासमा छ । रासस



प्रतिक्रिया दिनुहोस्