Logo

अहिलेको सरकारप्रति जनतामा आशा र भरोसा पैदा भएको एमालेको निश्कर्ष



काठमाडौं, १४ भदौ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनतामा आशा र भरोसा पैदा भएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो (बिहीबार) बसेको केन्द्रीय सचिवालयको ३५औं बैठकमा यस्तो निश्कर्ष निकालिएको हो ।

बैठकले नेकपा (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारका कामको समीक्षा गर्दै सकारात्मक रहेको निष्कर्ष निकालेको थियो । बैठकले वर्तमान सरकार गठनयता व्यावसायिक क्षेत्र र निजीक्षेत्र सरकारप्रति सकारात्मक र उत्साहित देखिएको, शेयर बजारमा नयाँ बृद्धि र लगानीमा निजी क्षेत्र आशावादी भएको ठहर गरेको छ ।

अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले लामो समयदेखि अल्झिएर रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट सर्वसम्मत पारित गराई ऐन बनाउने काममा सफलता प्राप्त गरेको र यो शान्ति प्रक्रिया टुङ्याउने सन्दर्भमा अन्तिम कोशेढुङ्गा भएको निष्कर्ष बैठकले निकालेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्