काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले आफ्नो पार्टीेले जनयुद्ध नमान्ने बताएका छन् । उनले जनयुद्धलाई एमालेले माओवादी हिंसा मान्दै आएको उल्लेख गरेका छन् । यही कुरा योगेश भट्टराईले संसद्मा बोल्दा व्यक्तिगत रुपमा भट्टराईमाथि तुच्छ प्रकारका लाञ्छना लगाउने, चरित्र हत्या गर्ने र असान्दर्भिक विषयवस्तुहरु उछाल्ने र मनोबल कमजोर बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् । उनले योगेशमाथि ज्यादती हुनु एमालेमाथि नै ज्यादती भएको बताएका छन् ।
रिजालले फेशबुकमा लेखेका छन्-
माओवादीले १० बर्षसम्म चलाएको हतियारबन्द राजनीतिका बारेमा नेपाली समाजमा तीब्र मतभेद छन् । त्यस सम्बन्धमा राजनीतिक दलका आ–आफ्नै मान्यता छन् । नेकपा (एमाले) ले त्यसलाई माओवादी हिंसा मान्दै आएको छ, ‘जनयुद्ध’ मान्दैन ।
माननीय योगेश भट्टराईले त्यही कुरा संसद्मा बोल्दा व्यक्तिगत रुपमा उहाँलाई तुच्छ प्रकारका लाञ्छना लगाउने, चरित्र हत्या गर्ने, असान्दर्भिक विषयवस्तुहरु उछाल्ने, कपोलकल्पित कथाहरु बुन्ने र मनोबल कमजोर बनाउने प्रयास गरिएको छ । खासमा यो पनि हिंसा नै हो । माओवादीलाई ‘जनयुद्ध’ जति प्रिय छ, अरुलाई त्यति नै अप्रिय छ र विरोध गर्ने अधिकार पनि त्यत्तिकै छ । योगेश भट्टराईले यो अधिकार प्रयोग गर्दा व्यक्तिगत रुपमा उहाँमाथि आक्रमण हुनु निन्दनीय, अतिवादी, अधिनायकवादी र हिंसावादी सोच हो ।
नेकपा (एमाले) का साढे तीन सयभन्दा बढी कार्यकर्तालाई माओवादीबाट ज्यान गुमाएका छन्, कैयौँ अंगभंग र विस्थापित भएका छन् । तसर्थ, नेकपा (एमाले) ले कहिल्यै पनि ‘जनयुद्ध’ भनेर स्वीकार्दैन, त्यसलाई ‘उग्रवामपन्थी भड्काव र हिसात्मक कार्य’ मान्दै आएको छ । हामीले साझा दस्तावेजहरुमा सशस्त्र संघर्ष भनेका छौँ, ‘जनयुद्ध’ होइन । जब माओवादीले साझा दस्तावेजमा भएको कुरा नबोलेर ‘जनयुद्ध’ प्रयोग गर्दा हुन्छ भने नेकपा (एमाले) ले पनि आफ्नो भाषा प्रयोग गर्न पाउँछ । यसवापत नेकपा (एमाले) का लोकप्रिय नेता, जनताका प्रतिनिधि र पार्टीका सचिव योगेश भट्टराईमाथि ज्यादती हुनु अन्ततः नेकपा (एमाले) माथिकै ज्यादती हो ।