Logo

नारायणी अस्पताल अस्तव्यस्त, दैनिक सयौं विरामीले सास्ती भोग्दापनि सरकारलाई दुख्दैन्



काठमाडौं, १५ भदौ । मधेश प्रदेशको मुख्य व्यापारिक नाका (आर्थिक केन्द्र) को रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा विरामीले सास्ती भोग्नुपरेको छ । अहिले गर्मी छ । विरामीले समयमै उपचार पाउन त चिठ्ठा पर्नुपर्छ । अस्पताल यतिवेला जनशक्ति र पूर्वधारविहीन अवस्थामा छ ।

तर, यो अस्पताललाई सुविधासम्पन्न बनाउनको लागि सरकार प्रमुखलाई कुनै चासो र चिन्ता छैन् । निमुखा जनता निजी अस्पतालमा जानसक्ने अवस्था छैन् । सरकारी अस्पतालमा उपचारै पाउन मुश्किल छ । उनीहरु अकालमा मर्नुपर्ने अवस्था बनिरहेको छ । यो अस्पताल विगतमा तराई मधेशको मात्रै नभएर छिमेकी देश भारतको सिमावर्ती क्षेत्रको पनि पहिलो रोजाईमा पर्ने अस्पतालको रुपमा चिनिन्थ्यो । तर, अहिले अस्पताल आँफै मृत्युशैय्यामा छ ।

आज (शनिबार) अस्पतालमा पुगेको प्राइम टिभीको टोलीसँग विरामीले समयमै उपचार नपाएको भन्दै गुनासो पोखेका छन् । पत्रकार ऋषि धमलाले अस्पताल परिसरमा पुगेर त्यहाँको अवस्था देखाएका छन् । सो क्रममा उनले विरामीको गुनासो पनि सुनेका थिए । विरामीले आकस्मिक कक्षमा उपचार पाउन नसकेको र अत्यधिक गर्मी हुँदापनि फ्यान (पंखा) वा एसीको व्यवस्था नगरिएको गुनासो राखेका छन् ।

कार्यक्रमस्थलबाटै पत्रकार धमलाले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेर अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । मन्त्री पौडेलले तत्काल अस्पताल निरीक्षण गर्ने र सुविधासम्पन्न बनाउने प्रतिबद्धता जनाए । यस्तै, उनले अस्पतालमा आवश्यक जनशक्ति पनि थप्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्