Logo

झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’



बनियानी (झापा), ३१ भदौ । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

झापाको अर्जुनधारा नगरपालिका, गौरादह नगरपालिका र कचनवलक गाउँपालिका क्षेत्रमा बढी मात्रा यो रोगको सङ्क्रमण देखिएको किसानले जानकारी गराएको उनले बताए । “छिटफुट रुपमा जिल्लाभरि देखिएको छ, नियन्त्रणको प्रयास भइरहेको छ”, उनले भने ।

अनुगमन गरेर ज्ञान केन्द्रमार्फत किसानलाई क्षेत्रफलको आधारमा थोरै मात्रा भए पनि औषधि वितरण गरिरहेको उनले जानकारी दिए । धान खेतको ठाउँ–ठाउँमा गोलकार रुपमा यो रोगको उपचारका लागि भ्यालिडिमाइसिन र हेक्साकोनाजोल औषधि दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर प्रयोग गर्न सकिने प्रमुख विष्टले बताए । रोगका कारण बाला कम लाग्ने भएकाले धान उत्पादन घट्ने उनले बताए ।

झापामा यो वर्ष ७५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान खेती गरिएको छ । गत वर्ष जिल्लामा ८५ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छ वटा पालिकाका एक सय पाँच बिघामा नमूनाखेती गरिएको छ ।

किसानलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध छन् ।

कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ सेन्टर’मार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको निमित्त प्रमुख विष्ट बताए । यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।

किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि रु पाँच लाख ५० हजार अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्