Logo

निःशुल्क रक्तसञ्चार कोषमा ५२ लाख सङ्कलन



त्रिशूली (नुवाकोट), ३१ भदौ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले निःशुल्क रक्त सेवा सञ्चालनका लागि सुरु गरेको आर्थिक सहयोग अभियानमा ५२ लाख सङ्कलन गरेको छ ।

रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार एक करोड पु¥याउने अभियान अन्तर्गत विसं २०८० भदौ १९ को घोषणा पश्चात एक वर्षमा ५२ लाख ४७ हजार कोषमा जम्मा भएको हो ।

“नुवाकोट रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनसहित निःशुल्क रगत उपलब्ध गराउन स्थापना गरिएको एक करोडको कोष स्थापनामा दाताबाट सहयोग प्राप्त हुने क्रम जारी छ”, उनले भने, “सहयोग उपलब्ध गराउने भनेर प्राप्त प्रतिबद्धता र जारी अभियानका गतिविधिमार्फत कोषको लक्ष्यअनुसार अपुग रकम अबको एक वर्षभित्र पूरा गर्न सक्छौँ भन्ने विश्वास छ ।”

रेडक्रसले सङ्कलन गरेको सहयोग रकममा नुवाकोट र रसुवाको स्थानीयतह र आफ्ना सदस्यहरु मुख्य स्रोतको रुपमा रहेका छन् । योसँगै विभिन्न स्थानमा आयोजित रक्तदान, धार्मिक तथा सांस्कृतिक गतिविधि, चाडपर्व, मेला–महोत्सवमा सहयोग जुटाइने गरिएको रेडक्रस कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

उनका अुनसार दातामार्फत निःशुल्क सङ्कलन गरिएको रगत निःशुल्क नै उपलब्ध गराउनुपर्ने भए पनि रगत व्यवस्थापनको लागि आवश्यक सामग्रीको शुल्क समावेश गर्दा प्रतियुनिट न्यूनतम एक हजार हाराहारी पर्दछ । “ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, सुरक्षित भण्डारणका लागि रसायनको प्रयोग, क्रसम्याच लगायतमा हुने खर्चको लागि शुल्क लाग्ने गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्