Logo

व्यस्थापकीय शक्ति सन्तुलन र कार्यकौशलतालाई सम्बोधन गर्न राष्ट्रियसभा : अध्यक्ष दाहाल



काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको चालु १६औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

गत वैशाख २८ गते प्रारम्भ भएको चालु अधिवेशन एक सय ३० दिन चालु रहँदा ४० वटा बैठक बसी ७३ घण्टा ५५ मिनेट सभाको काममा व्यतीत गरेको छ ।

अधिवेशन अवधिमा १७ वटा बैठकमा शून्य समय भयो । उक्त शून्य समयमा ४४ जना सदस्यले दुई घण्टा दुई मिनेट समय उपयोग गरेका थिए।

यसअवधिमा १६ वटा बैठकमा विशेष समय भयो । विशेष समयमा ५२ जना सदस्यले २१ घण्टा ५६ मिनेट समय उपयोग गरे । यस अधिवेशनका एक बैठकमा प्रादेशिक सरोकार समय रह्यो । प्रादेशिक सरोकार समयमा ११ जना सदस्यले एक घण्टा २६ मिनेट समय उपयोग गरे ।

यस अधिवेशनको पाँच वटा बैठकमा आकस्मिक समय रहेकामा १२ जना सदस्यले ४७ मिनेट समय उपयोग गरे ।

यसै अधिवेशनमा सभामा उठेका विषयको सरकारका मन्त्रीबाट समयमै जानकारी दिने र कर्णाली प्रदेशका भूकम्प प्रभावितका विषयमा सुझाव कार्यान्वयन गर्न चार पटक ‘रुलिङ’ भएको थियो ।

सरकारलाई संसद्प्रति जवाफदेही तुल्याउने महत्वपूर्ण औजारको रुपमा रहेको प्रश्नोत्तर कार्यक्रम सङ्घीय संसद स्थापना पछि राष्ट्रियसभामा पहिलो पटक यसै अधिवेशनमा शुरु भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित एउटा लिखित प्रश्न र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित आठ वटा मौखिक प्रश्नोत्तरसभामा सञ्चालन भयो ।

यसै अधिवेशनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतले स्वीकृतसमेत ग¥यो । अधिवेशनका क्रममा संवैधानिक व्यवस्था अनुरुप विभिन्न आयोगका वार्षिक प्रतिवेदनसमेत पेश भए ।

अध्यक्ष दाहालबाट सम्बोधन

अधिवेशन अन्त्यका क्रममा बैठकलाई त्यससम्बन्धी जानकारी गराउँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रदेशको न्यायोचित प्रतिनिधित्वसहित व्यस्थापकीय शक्ति सन्तुलन तथा कार्यकौशलतालाई सम्बोधन गर्न नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको बताए ।

उनले भने, “स्थायी प्रकृतिको यो सभा उत्पीडित जातजाति, अल्पसङ्ख्यक समुदाय, उत्पीडित क्षेत्रलगायत सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि संविधानमा व्यवस्था भएअनुरुप यसलाई अझै सुदृढ, व्यवस्थित गर्न सभाको भूमिका अपरिहार्य छ ।”

अध्यक्ष दाहालले सभाले संविधान र कानुनको सीमाभित्र रहेर आफ्नो भूमिका प्रभावकारी बनाउने विषयमा निरन्तर पहल गर्दै आएको उल्लेख गरे।

उनले भने, “बडादशैं, तिहार, छठ पर्व, नेपाल सम्वत्, इदलगायत सबै जातजातिका सांस्कृतिक पर्व र चाडपर्वका उपलक्ष्यमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस



प्रतिक्रिया दिनुहोस्