Logo

दशैंअघि माधवलाई नचलाउने ओलीको तयारी, पहिलो निशानामा रवि लामिछाने !



काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रूपमा बदला लिने नेताहरुमध्ये पहिलो नम्बरमा आउँछन् । उनी आफूमाथि धोका दिने र आफूलाई खतरा सावित हुने दुवैमाथि रणनीतिक रुपमा जाईलाग्ने नेतामा गनिन्छन् । कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्रीको कुर्सीमा आरामदायी अवस्थामा विराजमान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफूसँग ल्याएको चार महिना बित्न नपाउँदै राउण्ड किक हानेर भित्तामा पुर्याईदिएको अभिव्यक्ति दिने ओली कति खतरनाक नेता हुन् भन्नलाई धेरै टाढा जानै पर्दैन् ।

ओलीबाट तातो तातो अनि कहिल्यै नबिर्सिने धोका खाएका प्रचण्डलाई खुमलटारसम्म कष्ट गरेर सोध्दा थाहा हुन्छ । दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गरिसकेका ओली यतिवेला कांग्रेसको साथमा सरकारको नेतृत्वमा छन् । तर, कांग्रेसको खासै भर ओलीले देखेका छैनन् । कतिबेला कांग्रेसले आफूले प्रचण्डलाई किक हानेर फालेजस्तै फाल्छ भन्नेमा ओली सचेत छन् । त्यहीअनुसार बलियो हुनको लागि मेहनत गरिसकेका छन् ।

उनले अमेरिका उड्नुअघि नेपाली राजनीतिमा उथलपुथल मच्चाउने प्रयास गरेका थिए । तर, उपसभामुखलाई महाभियोग लगाएर हटाउने प्रयासमा कांग्रेस खासगरी शेखर समूह अनि सत्ता गठबन्धनको एक घटक जनमत बाधक बनेपछि उनको पहिलो योजना तुहिएको चर्चा छ । संसद्को हिजो भदौ ३१ गतेको सम्बोधनमा प्रधानमन्त्री ओलीले उपसभामुख हटाउने आफूहरुको योजना नै नभएको स्पष्टीकरण दिनुपरेको थियो ।

कतिसम्म भने कांग्रेस र एमालेका सांसदहरुले उपसभामुख इन्दिरा रानालाई हटाउनको लागि हस्ताक्षर नै संकलन गरेका थिए । तर, प्रस्ताव असफल हुने निश्चित् भएपछि सत्ता पक्षले एकाएक बोली फेरेको थियो । संवैधानिक परिषद्को वर्तमान समिकरण बदल्न सकेको भए ओलीले अमेरिका उड्नुअघि नै माधव नेपालको पार्टीलाई चिरिप्प पार्ने थिए ।

तर, संवैधानिक परिषद्को समिकरण पहिलेकै अवस्थामा कायम रहेको कारण तत्काललाई माधवको दल विभाजन गर्न भने ओली असफल भएका छन् । अब अमेरिकाबाट फर्किनेबित्तिकै उनले रवि लामिछानेको दलमाथि प्रहार गर्नेगरि तयारी गरेको चर्चा छ । अहिले रास्वपाबाट साधारण सदस्यसमेत नरहनेगरि निश्काषनमा परेका मुकुल ढकाललाई ओलीले बालुवाटारमा न्यानो आतिथ्यता प्रदान गरेको गाईंगुईं छ ।

ढकालले पनि रास्वपा सभापति रवि लामिछानेमाथि लगातार फायर खोलिरहेका छन् । रवि भने पार्टीको प्रथम राष्ट्रिय भेलामा व्यस्त छन् । यही भेलाबाट रास्वपाको पहिलो महाधिवेशनको मिति तय हुनेछ । रविलाई सहकारी ठगी प्रकरणमा मुछिएको प्रमाणित गरेर छानबिन समितिले कारबाहीको लागि सिफारिश गरेको अवस्थामा प्रधानमन्त्री ओलीले सो दलका आधा दर्जन सांसदहरुलाई आफ्नो दलमा ल्याउनेगरि छलफल थालेको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्