Logo

प्रभु साहको भिडिओ सन्देश : संविधान दिवस मनाउने होईन अब यसको अन्त्य गरौं (भिडिओसहित)



काठमाडौं, १ असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिले जनताको शासन नभएर नेताहरुको शासन भएकोले देशको अवस्थामा बदलाव नआएको दाबी गरेका छन् । संविधान दिवसलाई ‘संविधानको अन्त्येष्टि दिवस’ को रुपमा मनाउने घोषणा गर्ने क्रममा जारी गरेको भिडिओ सन्देशमा साहले यस्तो टिप्पणी गरेका छन् ।

उनले भने,‘आज देशमा बहस चलिरहेको छ, संविधान दिवस मनाउने या संविधानको अन्त्येष्टि गर्ने । नेताहरुलाई सम्मान गर्ने वा नेतालाई दण्डित गर्ने ? संविधान दिवसको अवसरमा दिपावली गर्ने वा ब्ल्याक–आउट गर्ने ? यो बहसमा सहभागी हुनको लागि म अपिल गर्न चाहन्छु । तपाईं÷हामी देश र जनतालाई केन्द्र बनाएर सोचौं । आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर साधुचित्त भएर एकचोटी विचार गरौं । देशको बेहाल बनाउने यही वर्तमान व्यवस्था होईन र ? जस्तो फ्याक्ट्री हुन्छ, उत्पादन त्यस्तै हुन्छ । आज व्यवस्था बिग्रिएकै कारण देश र जनताको अवस्था पनि बिग्रियो ।’

उनले विगतमा नेपाली जनताले देशमा बदलावको लागि लडेको स्मरण गराए । उनले भने,‘जनताले लोकतन्त्रको लागि जनआन्दोलन, जनयुद्ध र विभिन्न आन्दोलन गरेका थिए । तर, आज दलतन्त्र छ । जनताको शासन होईन, नेताज्यूहरुको शासन छ । दुनियाँमा नभएको व्यवस्था नेपालमा छ । तीन करोड जनसंख्या भएको देशमा ७६१ वटा सरकार छ । हाम्रै छिमेक चीनमा जबकी एक अर्ब ४१ करोड जनसंख्या भएको देशमा जम्मा ३४ वटा सरकार छन् । भारतमा पनि जम्मा ३७ वटा सरकार छन् । अमेरिकाजस्तो देशमा ५१ वटा सरकार छन् । दुनियाँको सबभन्दा ठूलो भूभाग भएको देश रुसमा ८९ वटा सरकार छन् । तर, नेपालमा ७६१ वटा सरकार छन् । यस्तो महान कुकर्म गर्ने नेतालाई हामीले के भन्ने ? दण्डित गर्ने कि सम्मान गर्ने अब एकचोटी विचार गर्न भन्छु ।’

विगतमा आफूहरुले अल्पसंख्यक समूदायलाई माथि उठाउनको लागि लडेको र समानुपातिक व्यवस्था ल्याएको उनले स्मरण गराए । उनले भने,‘ताकी अल्पसंख्यक समूदायलाई आरक्षण दिलाउन सकियोस भनेका थियौं । तर, आज नेपालमा शासक जातिलाई आरक्षणको व्यवस्था गरियो । समानूपातिक अधिकार खस, आर्य र ब्रम्हाणलाई दिईएको छ । दुनियाँमा नभएको संवैधानिक व्यवस्था नेपालमा छ । तीन तह (थ्रि–टायर) को संविधान दुनियाँमा कहीँपनि हुँदैन् । तर, नेपालमा राज्यलाई तीन खण्डमा बाँडिएको छ । तीन तहमा बाँडिएको छ । यस्तो कुकर्म गर्ने नेतालाई हामीले के भन्ने ? कुनैपनि देशमा एक देशको नागरिकताको प्रावधान छ, तर नेपालमा दोहोरो नागरिकताको प्रावधान छ । १३ वटा ंसंवैधानिक आयोग, अनि छद्यमभेषी संविधान छ, यो त देखाउने एउटा अनि चपाउने अर्को छ ।’

देशलाई लिड गर्ने मूल कानून संविधान नै छद्यमभेषी भएको कारण आज देशको अवस्था यो हालतमा पुगेको पूर्वमन्त्री साहको आरोप छ । उनले थपे,‘आज देशलाई अन्यौल बनाउने अनि अन्धकारको सुरुङमा लैजाने अनि बर्बाद बनाउने संवैधानिक व्यवस्था हामीले कायम गरेका छौं । म त यो संविधान निर्माणको सुरुवाती चरणदेखि नै जानकार छु । म अन्तरिम संसद्मा पनि थिएँ । म दुवै संविधान सभामा सदस्य थिएँ । संविधान निर्माणमा जनताप्रति गद्दारी भयो । आन्दोलन र जनयुद्धप्रति धोका भयो । देश र जनताप्रति धोका दिने यो कामको साक्षी बन्नुहुँदैन भनेर मैले यो संविधानमा हस्ताक्षर गरिनँ । मलाई कुनै राजनीति गर्नुथिएन । मेरो कुनै राजनीतिक स्टण्ड थिएन । देश र जनताप्रति म धोका दिन सक्दिनँ भनेर मेरो अन्तर्मनले भनेर नै मैले हस्ताक्षर गरिनँ । म त बदलावको लागि रगत बगाएर आएको मान्छे हुँ । ’

उनले आफ्नो १० वर्षको अनुभव साझा गर्दै अहिलेको व्यवस्था र संविधानले देश र जनतालाई के दियो भनेर प्रश्न गर्ने बेला आएको सुनाए । उनले भने,‘म १० वर्षको अनुभवले भन्छु, यो संविधानले हामीलाई के दियो ? आज देशमा निराशा छ । जनता अन्यौलमा छन् । हाम्रो विकास र समृद्धिको चाहना सबै चकनाचुर भएको छ । यो परिवेशमा हामीले निश्पक्ष र निस्वार्थ भएर बोल्ने कि नबोल्ने ? सोच्ने कि नसोच्ने ? यदि सोच्ने हो भने देशको जिम्मेवार नागरिकको नाताले यो व्यवस्था खारेज गर्नुपर्छ । हामी अब खारेजीको लडाईंमा अगाडि आऔं । देश र जनताप्रति गद्दारी अनि कुकर्म गर्ने नेताहरुलाई दण्डित गरौं । अनिमात्रै देशको भविष्य बनाउन सकिन्छ । त्यसको लागि संविधान दिवस मनाउने होईन यसको अन्त्य गरौं । अनिमात्रै देशको भविष्य बनाउन सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्