Logo

सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही सिफारिश छ, क्लिन–चिट पाएँ भन्नु अर्को ठगी हो : अधिवक्ता अर्याल (भिडिओसहित)



काठमाडौं, २ असोज । अधिवक्ता ओमप्रकाश अर्यालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि कारबाही गर्न नाम सिफारिश भएकोले छानबिन समितिले क्लिन–चिट दिएको भन्न नमिल्ने टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले सहकारी ठगी मुद्दामा रवि लामिछानेमाथि अनुसन्धान हुने दाबी गरे । उनले अहिलेको छानबिन समितिले सहमतिमै प्रतिवेदन ल्याएकोले अब त्यहीअनुसार अपराध अनुसन्धानबाट कारबाहीको प्रक्रिया अघि बढ्ने बताए ।

उनले भने,‘छानबिन समितिको प्रतिवेदनमा नाम नै किटानी छ । सहकारीको पैसा अपचलनमा उहाँपनि संलग्न हुनुहुन्छ। किनभने उहाँ (रवि लामिछाने) आँफै लगानीकर्ता र शेयर होल्डर रहेको खासगरी प्रवन्ध निर्देशक रहेको गोरखा मिडियामा सहकारीको पैसा आयो । गोरखा मिडियाको विउ पुँजी नै सहकारी ठगीबाट संकलन गरियो । त्यो गोरखा मिडिया कम्पनीको सिड मनी नै कसरी जन्मियो भन्दा सहकारी ठगीबाट जन्मियो । सहकारी ठगीको पैसाबाट त्यो सिड मनी बन्यो । त्यो कम्पनी कसरी चल्यो भन्दा त्यो सहकारीको पैसा ठगेर ल्याएर चल्यो । त्यसमा कम्पनी खोल्ने र चलाउने व्यक्तिहरु संलग्न भए । अनि कम्पनी खोल्नेहरुले नै त्यसको लाभ लिए । रिपोर्टमा सबै कुरा आएको छ । रिपोर्टमा त्यस्तो आउँदा आउँदै क्लिन चिट पाएको भन्ने फेरि अर्को ठगी हो । अर्को किर्ते कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्