Logo

अहिले राजनीतिक कमैया मुक्ति आन्दोलनको आवश्यकत्ता छ : डा. सुरेन्द्र केसी



काठमाडौं, ३ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले नेपाल धर्म र संकटको अवस्थामा आईपुगेको उल्लेख गर्दै अब नयाँ विकल्पमा जानुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले अहिलेको संविधानले समस्यामात्रै दिएकोले समाधानको लागि अर्को विकल्पमा जानुपर्ने बताए ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान : समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने,‘नेपालका राजकीय मामिलामा आजसम्म सम्पादन गरिएका कामहरुमध्ये सवैभन्दा भड्किलो र खर्चिलो काम भनेको चाहीँ यही संविधानसभा थियो । चानचुन ५२ अर्ब यसमा खर्च भएको भन्ने छ । यस्तो खर्च गरिगरिकन यस्तो खर्चिलो संविधान हाम्रो टाउकोमा हालिदिए, अब कुन खर्चले बनाउने ? कतिवटा संविधान बनाउने ?’

उनले अहिले देशको आर्थिक अवस्थापनि अहिलेको व्यवस्था महँगो भएको कारण बिग्रिएको टिप्पणी गरे । उनले भने,‘यिनी ८ सय जना महँगा सेता हात्तीहरुले हाम्रो सम्पूर्ण साधन र स्रोत एकलौटी गरेको हुनाले हामी माग्ने भयौं । अब प्रभुजीहरुको कुरा, उहाँ त जनयुद्ध लडेर आउनुभएको हो । कति मान्छे मरे कति मान्छे जिउँदा भन्ने कुरा अर्कै हो, तर त्यो हिंसा भन्ने शब्दसँग पनि आजभोलि उहाँहरुलाई त्रास हुन थाल्यो भन्ने कुरा भर्खरै हाम्रो त्यो बैगुनी केटाको प्रसंगले देखाईदियो । त्यस्ता बैगुनी केटाहरु कति छन् होला त्यहाँ । यी केटाहरुको कारणले आज हामी माग्ने भयौं ।’

उनले माओवादी जनयुद्धलाई खुलाखुल्ला हिंसा नै भनेर दाबी गरे । यो कुरा स्वयम माओवादीको दस्तावेजमा पनि लेखिएको उनले स्मरण गराए । हिंसाको बलमा अहिलेको संविधान बनाईएकोले यसले समाधान नदिने उनको ठोकुवा छ । उनले संविधानमा राम्रो कुरा भएपनि यसको आचरण व्यवहार राम्रो नभएकोले समस्या निम्तिएको बताए ।

कानून बनाउने व्यक्ति नै सहकारी ठगीमा मुछिएकोले भोलि विदेशीले पनि नेपालका बैंक र सहकारीको रिकम्डेशन नमान्ने अवस्था आउनसक्ने उनको भनाई छ । उनले अहिले कसैले कसैमाथि पनि विश्वास गर्न सक्ने अवस्था नभएको जिकिर गरे ।
उनले आजको मुख्य प्रश्न भनेको नै राजनीतिक कमैया मुक्ति आन्दोलन भएको सुनाए । उनले भने,‘हामीले कमैया प्रथा चाहीँ उन्मुक्ति गर्यौं । तर, राजनीतिभित्रका दासहरुलाई चाहीँ मुक्त गर्न सकेका छैनौं । राजनीतिभित्रको दासत्व छ, यसलाई मुक्त गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्