Logo

संविधानको कार्यान्वयनसँगै समृद्धि हासिलः प्रदेश प्रमुख भट्ट



गण्डकी, ३ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्पmत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवसले नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेकामा जोड दिँदै उनले देशको हित र जनताको उन्नतिभन्दा ठूलो कुनै लक्ष्य हुन नसक्ने सन्देशमा उल्लेख गरेका छन् ।

संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले शुभकामना सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु भनेका छन्।

वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न सफल भएको प्रदेश प्रमुख भट्टद्वारा जारी सन्देशमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्