Logo

घटस्थापना अघि नै मेलम्चीको पानी पथान्तरणको तयारी



काठमाडौं, असोज ४ । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले दिएको निर्देशन अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि काम गरिरहेको छ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौं,’ उनले भने। सोही योजनाअनुसार अहिले काठमाडौँमा बिग्रीएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको पनि लामिछानेले जानकारी दिए।

वर्खायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।



प्रतिक्रिया दिनुहोस्