Logo

पोखरामा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै



कास्की, असोज ४ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आगामी डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको राजधानीमा आयोजित घोषणा सभामा जानकारी दिइयो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरसम्म पामे क्षेत्रमा तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ। नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० देशका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहने लक्ष्य रहेको छ। पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए। कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दैै खुसी व्यक्त गरे।

कम्पनीका निर्देशक विवि ढकालले महोत्सवमार्फत पोखराको पर्यटनमा नयाँ आयाम थपिने बताए। “प्राकृतिक स्रोत र साधनले धनी पोखरा पछिल्लो समय साहसिक पर्यटनका लागि पनि गन्तव्य बन्दै गइरहेको छ। यस सन्दर्भमा बलुन महोत्सव पोखरालाई साहसिक पर्यटकीय गन्तव्य बनाउने योजनामा थप सहयोगी हुनेमा हाम्रो विश्वास छ”, उनले भने।

कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सबिन महर्जनले कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत बिश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्