Logo

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’



काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । संविधान दिवसको सन्र्दभमा चलचित्र विकास बोर्डद्धारा आज आयोजित “सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१” कार्यक्रममा बोल्दै मन्त्री गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपुर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

“अप्रत्यक्ष रुपमा समाज रुपान्तरणका लागि अहम भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो । मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ”, उनले भने । उनले यो वर्ष चलचित्र विकास बार्डेको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो वर्षको सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ ले सम्मान गरेको छ । नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने चलचित्रलाई वर्षेनी सम्मान गरिने बोर्डले निर्णय गरेको हो ।

यसै चलचित्रमार्फत सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएका पाँच कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट, गायिका लोचन भट्टराई पुरस्कृत भएको हो । कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रुपान्तरणका लागि योगदान पुर्‍याएका कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ ।

कलाकार हरिवंश आचार्यले चलचित्र फेरिए जस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रीत भइदिन आग्रह गरे । कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही रु २५ हजार नगद र ताम्रपत्रसहित सम्मान गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्