Logo

बाँध खोलेका कारण बाढीको सङ्कट आएको पश्चिम बङ्गालका मुख्यमन्त्रीको भनाइ



कलकत्ता, ४ असोज । पूर्वी भारतमा २६ जनाको मृत्यु भएको र दुई लाख ५० हजारभन्दा बढी विस्थापित भएपछि पश्चिम बङ्गालका शीर्ष राजनीतिज्ञले बाँध खोलेका कारण बाढी र बाढीजन्य सङ्कट आएको छिमेकी राज्यका अधिकारीलाई शुक्रबार आरोप लगाएका छन्।

पश्चिम बङ्गाल राज्यमा डुङ्गामा सवार उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेको र एउटा गाउँको सरकारी अस्पताल पूर्ण रूपमा जलमग्न भएको टेलिभिजनमा देखाइएको छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले यस साता २६ जनाको मृत्यु भएको र अन्य दुई लाख ५० हजार मानिस आफ्नो घर छोडेर शरण लिन बाध्य भएको बताएका छन् ।

उनले छिमेकी राज्य झारखण्डका अधिकारीले अनावश्यक रूपमा बाँधको गेटहरू खोलेर पानी छोडेको र आफ्नो राज्य डुबानमा परेकोे आरोप लगाएका छन् ।

“बाढी मानवनिर्मित हो”, उनले भने, “त्यसको प्रतिक्रियास्वरूप तीन दिनका लागि झारखण्डसँगको सीमा बन्द गर्न आदेश दिएको छु।”

झारखण्डको सत्तारुढ गठबन्धनका सदस्य सुप्रियो भट्टाचार्यले एएफपीसँग कुरा गर्दै आफ्नो राज्यसँग बाँधमाथिको दबाब कम गर्नुको विकल्प नभएको बताए।

उनले भने, “पानी रोक्दा बाँधमा क्षति पुग्न सक्थ्यो र दुवै राज्यमा ठूलो बाढी आउन सक्थ्यो । त्यसैले बाँध खोलिएको हो । हाम्रो सरकारले स्वाभाविक रूपमा झारखण्डका जनताको हितको रक्षा गर्नेछ।”

दामोदर नदीको किनारमा बाँधहरूको व्यवस्थापन गर्ने दामोदर भ्याली कर्पोरेसन (डीभीसी) ले वर्षा कम भएपछि शुक्रबार पानी छोड्न ‘कमी’ गरेको बताएको छ।

पश्चिम बङ्गालमा रेल कर्मचारी प्रदीप मैतीले बाढीपछि आफ्नो गाउँ घटालका अधिकांश मानिसहरू राहत शिविरमा आश्रय लिएको बताए । उनले एएफपीसँग भने, “अहिले गाउँमा डुङ्गा नै यातायातको एक मात्र माध्यम बनेको छ ।”

आँधी र अत्यधिक वर्षाले भारतमा हरेक वर्ष व्यापक विनाश निम्त्याउने गरेको भएपनि विज्ञहरूका अनुसार जलवायु परिवर्तनले मौसमको ढाँचामा परिवर्तन ल्याउँदैछ र चरम मौसमी घटनाहरूको सङ्ख्या बढाइरहेको छ। रासस



प्रतिक्रिया दिनुहोस्