Logo

केही समयभित्रै ओली नेतृत्वको सरकार कुहिएर झर्ने प्रचण्डको दाबी (भिडिओसहित)



काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार केही समयभित्रै ढल्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा आधा दर्जन मन्त्री भ्रष्टाचारको आरोप लागेकाहरु रहेको टिप्पणी गरे ।

आज (शनिबार) अखिल नेपाल ट्रेड युनियन महासंघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार नै भ्रष्टाचारीलाई जोगाउनको लागि बनेको आरोप लगाए । तर, अहिले सरकार सबै मोर्चामा असफल भएको उनको दाबी छ । उनले सत्ताको नेतृत्व गरेपनि कांग्रेस र एमाले असफल भएको दाबी गरे । आफूहरु सरकारबाट बाहिरिँदै गर्दापनि विजयको भावमा बाहिरिएको दाहालको भनाई छ ।

उनले आफूले सरकारबाट बाहिरिएपछि पहिलोपटक प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्दा कांग्रेस र एमालेको षड्यन्त्रको भण्डाफोर गरेर जनताको शक्ति लिएर फर्किन्छु भनेर भनेको पनि स्मरण गराए । उनले भने,‘म जनताको तागत लिएर आउँछु भनेर कांग्रेस र एमालेलाई धावा बोलेर आएको छु । हामी गर्जिएर निस्किएका छौं । खबरदार गर्दै निस्किएका छौं । जो सरकारमा गएका छन्, उनीहरु थरथर काम्दै गएका छन् । यस्तो नयाँ खालको र विचित्रको परिस्थिति अहिले नेपालमा बनेको छ । सरकार बनेपछि जे जति उनीहरुले प्रयास गरे सबै भ्रष्टाचारीहरुलाई बचाउने प्रयास गरे । आधा दर्जनभन्दा बढिलाई त भ्रष्टाचारको केश लागेकाहरुलाई नै मन्त्री बनाएका छन् । जसको काँधमा भ्रष्टाचारको मुद्दा छन् ।’

उनले उपसभामुख ईन्दिरा रानाजस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याँतिप्राप्त महिलालाई हटाउन खोजेपनि त्यो प्रपञ्च सफल नभएको सुनाए । उनले भने,‘उनीहरु सबैमा असफल भए । उनीहरुले एउटा पनि काम फत्ते गर्न सकेका छैनन् । हामी प्रतिपक्षमा भएपनि एकपछि अर्को सफलता हात पार्दै गएका छौं । एकपछि अर्को असफलता उनीहरुको हात लागेको छ । मलाई लाग्छ केही समयभित्र यो गठबन्धन आँफै कुहिएर झर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्