Logo

‘एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई’



बैतडी, ६ असोज । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे । साधारणसभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए ।

साधारणसभामा आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा पनि छलफल भएको छ ।

साधारणसभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए । “क्रिकेटको माध्यमबाट नेपाल विश्वसामु चिनिएको छ । पूर्वाधार निर्माणमा सरकार गम्भीर बनेको छ । आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ”, उनले भने, “पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ । यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ ।”

सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटको व्यवस्था गरेकामा धन्यवाद दिँदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियोगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेको औँल्याए । खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्ने बताए ।

उनले भने, “खेलाडी छनोट पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन । खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन् ।”

एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ । यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयोगमा कमी हुँदैन ।” रासस



प्रतिक्रिया दिनुहोस्