Logo

गण्डकी प्रदेशस्तरीय अण्डर–१९ क्रिकेट पोखरामा सुरु



कास्की, ७ असोज । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखि गण्डकी प्रदेशस्तरीय वाइ वाई अण्डर –१९ एक दिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित यही असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका छ जिल्लाको सहभागिता छ । प्रतियोगिताको समुह ‘ए’मा कास्की, पर्वत र तनहुँ र समुह ‘बी’मा नवलपुर, स्याङजा र बाग्लुङ रहेका छन् ।

उद्घाटन खेलमा घरेलु टोली कास्की र पर्वतकाबीच खेल सञ्चालन भएको छ । प्रतियोगितामा बिजेता टिमले ट्रफी तथा मेडल प्राप्त गर्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार प्रतियोगिताबाट आगामी कात्तिक १ गतेदेखि कोशी प्रदेशमा सञ्चालन हुने यू–१९ राष्ट्रिय क्रिकेटका लागि गण्डकीको टिमका खेलाडी छनोट गरिने ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदशेसभा सदस्य प्रकाश बरालले क्रिकेट खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् क्रिकेट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउन पुग्ने बताए ।

बरालले भने, “प्रतियोगिताले युवा खेलाडी उत्पादनसँगै व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्नेछ । राष्ट्रिय गौरव जज्वलमान बनाउन क्रिकेटको महत्वपूर्ण योगदान रहेको छ ।”

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पछिल्लो समय गण्डकीको क्रिकेटले फड्को मार्दै गएको बताए । छनोट प्रतियोगिता ‘रोड टु वर्ल्ड कप’को रुपमा खेलाडीहरुले ग्रहण गर्नुपर्ने बताए ।

“नेपाली क्रिकेटको जग बलियो बनाउन उमेर समुहका प्रतियोगिताहरु महत्वपूर्ण छन् । खेलाडीले आफ्नो खेल प्रदर्शनलाई उच्च बनाउन बनाउँदै प्रादेशिक तथा राष्ट्रिय टोलीमा छनोटमा पर्ने गरी मेहनत गर्नु आवश्यक छ ।” रासस



प्रतिक्रिया दिनुहोस्