Logo

लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता



गुलरिया (बर्दिया), ८ असोज । जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै ‘अपरेशन’ सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको टोलीले लागुऔषध कारोबारको जोखिमयुक्त नेपाल–भारत सीमा नाकामा जाँचसहित आगन्तुकलाई सचेत पार्दै पर्चा पम्प्लेट वितरण सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको सुरक्षा समितिले तीनमहिने कार्ययोजना निर्माण गरी अभियानका रुपमा सचेतनासँगै जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्लामा करिब ८३ किलोमिटर खुला सिमाना भएकाले लागुऔषध कारोबार तथा दुव्र्यसन बढ्दै गएकाले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको उनले उल्लेख गरिन् ।

बढैयाताल गाउँपालिकाअन्तर्गत सीमा क्षेत्रमा पर्ने फुटाहा गाउँको सिमानामा रहेको भारतीय बलई गाउँ बजारसँगको नाका लागुऔषध ओसारपसार केन्द्रका रुपमा प्रयोग भएको पाइएपछि सुरक्षा समितिले विशेष निगरानी बढाएको प्रजिअ शर्माले जानकारी दिइन्।

त्यस्तै गुलरिया नगरपालिकाअन्तर्गत गणेशपुर नजिकै रहेको भारतको लौकाइ बजारसँगको नाका पनि लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा पहिचान भएपछि सुरक्षा प्रमुखद्वारा नाकामा पुगी लागुऔषध रोकथामका लागि सचेतनासँगै जाँच गरिएको छ ।

मधुवन नगरपालिका र राजापुर नगरपालिकाअन्तर्गत सीमावर्ती नाकाबाट लागुऔषध नेपाल भित्रिने जोखिम रहेकाले स्थानीय प्रशासनले सीमानामा सक्रियता बढाएको प्रजिअ शर्माले बताइन् ।

मधुवन नगरपालिका–७ की विना नेपालीले लागुऔषध कारोबार नियन्त्रणका लागि बर्दिया प्रशासनसहित सुरक्षा प्रमुख सीमानाकामा पुगेर कडाइ गर्नु प्रभावकारी कदम भएको बताइन्।

बढैयाताल–२ की उषा सुनारले लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रमा प्रहरी प्रशासनका प्रमुखको भौतिक उपस्थिति हुनु अभिभावकका लागि खुसीको कुरा भएको बताइन् । यसले अवैध कारोबार नियन्त्रण हुनुका साथै दुव्र्यसन रोकथाम हुने उनले विश्वास व्यक्त गरिन् ।

जिल्लामा अन्य मुद्दाभन्दा लागुऔषधसम्बन्धी मुद्दा बढिरहेकाले लागुऔषध नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले बताए । उनका अनुसार भारतीय सीमासँग जोडिएका जिल्लाका चार पालिका लागुऔषधको उच्च जोखिममा छन् ।

लागुपदार्थको जोखिम घटाउन सबैको सहयोग आवश्यक पर्ने बताउँदै प्रउ धितालले बर्दिया लागुऔषधको दृष्टिले लुम्बिनी प्रदेशमा तेस्रो स्थानमा पर्ने जानकारी दिए । सचेतनासँगै लागुऔषध नियन्त्रणमा सुरु गरिएको ‘अपरेशन’ प्रभावकारी बन्दै गएको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्