Logo

‘ला ज्यालो वाङ थोप’ गुम्बा छ वर्षदेखि अलपत्र



खोटाङ, १० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गरेको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।

प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । करिब २१ करोड लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ ।

नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको ९९ लाख बजेटबाट भुइँतलामा पिलरको डण्डी ठड्याइएको थियो ।

प्रदेश सरकारले एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाखको सम्झौता गरिएको स्थानीयको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीयले प्रदेशमा गुनासो गरेका थिए ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए । “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो । निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उनले भने, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ ।

उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, प्रदेश सरकारबाट खटिएका इञ्जिनीयरले गरेको स्टिमेट अनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्