Logo

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुविरुद्ध कुप्रचार गरिएको शंकर पोखरेलको टिप्पणी



काठमाडौं, १० असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विदेशमा रहेको बेला उनीहरूका विरुद्ध कुप्रचार गरेर लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् । यसबाट नयाँ शक्ति भनिएकाहरूको चरित्र र नियत छर्लङ्ग भएको पोखरेलले स्पष्ट पारेका छन् ।

प्रेस चौतारी नेपाल, धनगढीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने,‘प्रधानमन्त्री विदेशी भूमिमा भइरहेको बेला प्रधानमन्त्रीका विरुद्ध जुन प्रकारका प्रचारहरू भइरहेका छन्, ती अति लज्जाजनक छन् र देशको हितका विरुद्धमा छन् ।’ सो कार्य रवि लामिछानेमाथिको अनुसन्धानलाई नै रोक्ने खालका गतिविधि भएको भन्दै महासचिव पोखरेलले खेद व्यक्त गरे । ‘यो कानुनी राज माथिको उपहास हो’, उनले भनेका थिए ।

लामिछानेमाथि लागेको आरोप कति गम्भीर छ भन्ने कुरा सबैले बुझेको भन्दै उनले एउटा कम्पनी खोलेर कानुन विपरीत सहकारीको ६५ करोड रुपैयाँ लैजाने कुरा चानचुने नभएको र ठगीकै नियतका साथ टेलिभिजन खोलिएको कुरा स्पष्ट भएकोे बताए । कुनै पनि कम्पनीको प्रबन्ध निर्देशक कुनै पनि कम्पनीको स्रोत के हो भन्ने कुरा थाहा नै नपाई खर्च गरेँ भन्ने कुरा असक्षमता र अनुचित भएको महासचिव पोखरेलले बताए ।

सहकारीबाट कम्पनीमा लगेको रकम जथाभाबी खर्च गरेर दुरुपयोग गर्नेले अहिले मेरो संलग्नता थिएन भनेर ‘क्लिन–चिट’ नपाउने उहाँले स्पष्ट पारे । पोखरेलले भने– हल्ला गरेको भरमा कसैले क्लिन–चिट प्राप्त गर्दैन, क्लिन–चिट प्राप्त गर्नु भनेको कानुनी प्रक्रियामा सहयोग गरेर अदालतबाट सफाइ पाउनु हो, अथवा अनुसन्धान प्रक्रियामा निर्दोष ठहर भएपछि क्लिन–चिट पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्