Logo

प्रचण्डसँगको पहिलो भेटबारे प्रकाश पार्दै जनार्दन शर्माको खुलासा : मलाई यो नेता चित्त बुझ्यो, यसले देश खान्छ भनेको थिएँ (भिडिओसहित)



काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूले पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग २०४२ सालमा भेटेको खुलासा गरेका छन् । सञ्जय सिलवाल गुप्तासँग पडकाष्टमा कुरा गर्दै शर्माले यस्तो खुलाएका हुन् ।

आफूले प्रचण्डसँग पहिलोपटक भेटेको दिन स्मरण गर्दै जनार्दनले भनेका छन्–‘जिल्ला कमिटीको मिटिङ थियो । पातलो पातलो एउटा युवा गईपुगे, अर्को एउटा मोटो मोटो गोरो गोरो मान्छे थिए । मिटिङ सुरु भएपछि थाहा भयो, विश्वास भन्ने मान्छे रैछन् । नाम विश्वास थियो यिनको । त्यहाँ सन्दर्भ अलिक कस्तो थियो भने पार्टी फुट विभाजन केही भैराखेको थियो । मोहनविक्रमलाई कारबाही या केही गरेको अवस्था थियो । त्यही कुरा उहाँले व्याख्या गरिराख्नुभएको थियो । मलाई त्यो कुरा चित्त बुझेन । र, मैले के भने मलाई यो कुरा मन परेन । यो देशमा राजतन्त्रको अन्त्य कसरी गर्ने ? (हाँस्दै–आज सन्दर्भपनि मिल्ला कि ?), राजतन्त्रको अन्त्य कसरी गर्ने त्यो कुरा भन्नुहोस । सामन्तवादको अन्त्य कसरी गर्ने, के हो प्लान ? भनेर भन्नुहोस । लड्न पर्छ कि पर्दैन् ? लड्ने हो भने लड्ने कसरी हो ? अनि हतियार कहाँ पाउने हो ? तालिम कहाँ गर्ने हो ? त्यो कुरा पो चाहियो यहाँ । मैले यही कुरा भनें सिधैं । अनि उहाँले बडो राम्रो प्रश्न गर्नुभयो भनेर ४५ मिनेट मेरो प्रश्नको उत्तर दिनुभयो । मलाई उहाँको उत्तरु चित्त बुझ्यो । अनि मैले मेरो दायाँ र बायाँ बस्ने साथीहरु थिए, मभन्दा अलिक सिनियर साथीहर थिए । उनलाई भनेको थिएँ मैले यसले देश खाने भयो । यही शब्द आयो मलाई, भन्न आयो । खड्गबहादुर बुढा र मस्तबहादुर श्रेष्ठ मेरो दुइतिर थिए । मलाई चित्तबुझ्यो यो नेता भनेको थिएँ । यसले देश खान्छ भनेको थिएँ । पछि किरणजीलाई विस्थापित गरेर उहाँ नेता हुन आईपुग्नुभयो । त्यतिवेला उहाँको नाम प्रचण्ड बन्यो । पहिला विश्वास थियो, प्रचण्ड बन्यो । तर, प्रचण्डको नाम कसले राख्यो मलाई थाहा छैन् । निर्माण भन्ने नाम राख्नुभएको थियो, त्यसलाई हटाएर पछि प्रचण्ड राख्नुभयो । त्यो उहाँले आँफै राखेको होला ।’

२०४२ सालदेखि प्रचण्डसँगको आफ्नो दोस्ती कहिल्यै नटुटेको उनको दाबी छ । सञ्जयले प्रचण्डसँग २०४२ सालदेखि सुरु भएको दोस्ती कहिल्यै टुटेन है भनेपछि जनार्दनले भने–‘अँ, दोस्ती टुटेको छैन् । अब डिस्कशन निरन्तर छ ।’



प्रतिक्रिया दिनुहोस्