Logo

अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउन ओलीलाई झलनाथ खनालको सुझाव



काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउनको लागि पहल गर्न सुझाव दिएका छन् । हिजो प्रचण्ड नेतृत्वको सरकार बनाउँदा माधव नेपालको घरमा गएर बोलेको कुरा स्मरण गर्दै त्यसको लागि पहल लिन खनालको सुझाव छ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । एमालेले एक्लै चुनाव लडे शर्मनाक हार हुने दाबी गर्दै वामपन्थीहरुबीच सहकार्यको लागि जोड दिन उनको सुझाव छ ।

उनले भने,‘म त केपी कमरेडलाई अहिले फेरि पनि के भन्छु भने थपक्क न्यूयोर्कबाट फर्कनुहोस, यहाँ आएर सबै वामपन्थी साथीहरुसँग कुराकानी गर्नुहोस । हिजो योभन्दा अघिल्लो समिकरणको सरकार बनाउने बेलामा माधव नेपालको घरमा गएर तपाईंले जे कुरा गर्नुभएको थियो, ०८४ आउँदैछ र हामी सबैले आज जेखालको चूनौति भोग्नुपरेको छ, त्यसको लागि हामी वामपन्थीहरु मिल्नुपर्यो, एकतावद्ध हुनुपर्यो भन्नुभयो, अहिले पनि त्यही कुरा ठीक हो । त्यसकारण त्यो ठाउँमा फर्कनुहोस । म त प्रधानमन्त्रीलाई यो कुरा भन्छु ।’



प्रतिक्रिया दिनुहोस्