काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले निर्वाचनमा पराजित भएका पूर्व पदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।
कार्य विभाजनका क्रममा नेताहरुको योगदान र सक्षमताको आधारमा विभागीय प्रमुख तथा जनवर्गीय इन्चार्जको जिम्मेवारी दिने तयारी भएको हो । पार्टी सङ्गठन गतिशील बनाउन नेताहरुको कार्यविभाजन गरी पार्टीका विभागलाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका ईन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गरिने जनाइएको छ ।
नेताहरूबीच थप छलफल गरी सङ्गठन सुदृढीकरणमा अनुभव अनुभवी, सक्षम नेताहरुलाई विगतको योगदानका आधारमा उपयुक्त जिम्मेवारी दिने विषयमा तल्लो तहदेखि नै सुझाव आएको सो पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
पूर्वपदाधिकारीमा उपाध्यक्षत्रय धनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुसाल चुनावमा प्रतिस्पर्धा नगरेकाले वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको छ । विजय पौडेल, जीवनराम श्रेष्ठ र रामकुमारी झाँक्री पदाधिकारीमा पराजित भएका थिए । पदाधिकार्िरमा चिट बाँढेर हराईएको भन्दै उनीह्र असन्तुष्ट छन् । असन्तुष्ट बनेका नेताहरु एमालेमै फर्किने तयारीमा छन् । एमालेमा जानबाट रोक्न अध्यक्ष माधवकुमार नेपालले जिम्मेवारी दिन खोजेको चर्चा चल्न थालेको छ ।
हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो । महाधिवेशनले पुरानो पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित १०५ पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै जिल्ला पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।