Logo

त्रिशूली नदीमा फसेका एक्साभेटर र टिप्पर बाढीले बगायो



गोरखा, असोज १२ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीन वटा टिप्पर र दुई वटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए। “साँझतिर एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुई वटा टिप्पर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ ।”

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीन वटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो । नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनको भनाइ छ । ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिप्पर र एक्साभेटर नदीले बगाएको छ ।



प्रतिक्रिया दिनुहोस्