Logo

नागरिक विपत्तिमा हुँदा सरकार बेपत्ता भएको भन्दै प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा



काठमाडौं, १३ असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नागरिक प्राकृतिक विपत्तिमा परेको बेलामा सरकार बेपत्ता भएको भन्दै आलोचना गरेका छन् । अविरल वर्षाको कारण देशव्यापी रूपमा ठूलो जनधनको क्षति हुँदापनि सरकारको उपस्थिति कहीँकतै नदेखिएको भन्दै साहले आलोचना गरेका हुन् ।

उनले नागरिक ठूलो विपत्तिमा परेको बेलामा सरकार प्रमुख विदेश शयरमा रमाउनु देश र जनताको लागि पनि लज्जाको विषय भएको टिप्पणी गरे । बाढि, पहिरोको कारण देशभर १३२ जनाले ज्यान गुमाएको र ६४ जना बेपत्ता हुँदा पनि सरकार भएको अनुभूति नागरिकले गर्न नसक्नु दुःखको विषय भएको साहको भनाई छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नालायकको संज्ञा दिँदै तत्काल पदबाट राजीनामा दिन भनेका छन् ।

मौसमविद्हरुले सम्भावित खतराको पूर्व सूचना र आवश्यक तयारीको जानकारी समयमै दिँदादिँदै पनि सरकारको जिउँदो उपस्थिति कहीँकतै नदेखिएकोमा साहले आक्रोश पोखेका हुन् । उनले सरकारलाई नालायकको संज्ञा दिँदै नेतृत्वमा बसेकाहरुलाई एक मिनेटपनि पदमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गरे । उनले सामान्य मानवीय संयमतता पनि सरकारमा बसेकाहरुबाट प्रदर्शन नहुनु देशकै लागि घातक भएको भन्दै नालायक सरकारलाई विस्थापित गर्न जनस्तरबाट दबाब सिर्जना हुनुपर्नेमा जोड दिए ।

साहले आफूले सस्तो लोकप्रियताको लागि यस्तो टिप्पणी नगरेको पनि स्पष्टीकरण दिएका छन् । उनले भने,‘मैले राजनीतिक दाउपेचको आधारमा यो बोलेको होईन । अविरल वर्षाको लागि सिंगो देशले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको अवस्थामा सरकार देखिएन । राहत तथा उद्धारमा सरकारको उपस्थिति शून्य भएको कुरा आम नागरिकस्तरबाट गुनासो आएको छ। यो सामान्य अवस्था होईन । राष्ट्रिय संकटकालको अवस्थामा सरकार भएरपनि नभएको भनेर नागरिकले अनुभूत गरेको कुरालाई नजरअन्दाज नगरौं ।’

चाडपर्वको मुखमा नागरिकलाई यत्रो विपत्ति आउँदा सरकारमा बसेकाहरुले विपत्तिको बारेमा पूर्वतयारी नगर्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको साहको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्