Logo

दशैं बोनस रोक्न प्रभु साहको माग



काठमाडौं, १३ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् । सिंहदरबारस्थित आजपाको संसदीय दलको कार्यालयमा पत्रकारसंग कुराकानी गर्दै उनले बाढीपहिरो पीडितलाई तत्काल बस्ने, खाने बिषयमा ध्यान दिनुपर्ने भए पनि सरकारले उद्धार गर्नमा समेत असफल भएको टिप्पणी गरे । पूर्वसूचना हुँदाहुदै पनि सरकारले पीडितको उद्धारमा ध्यान नदिदा सयौं नागरिकले ज्यान गुमाएकोमा उनले सरकार पूर्णरुपमा असफल भएको बताए ।

‘विश्वमै १२ महिनाको एक बर्ष हुन्छ । तर यहाँ नेताहरुले १३ महिनाको तलब लिन्छन् । महिनामा २१-२२ दिन काम गरेर विदाको दिन घरमै बस्ने र विदाको समेत तलब खाने गरेका छन् । चाडपर्व वातप एक महिनाको तलब लिन्छन्’ आजपा अध्यक्ष साहले भने, ‘त्यो एक महिनाको अतिरिक्त तलब जुन चाडपर्व भनेर लिने गरेका छन्, त्यो रोकेर बाढीपहिरो पीडितलाई दिन मेरो अनुरोध छ । सरकारले उद्धारमा त ध्यान दिएन, मेरो अनुरोध छ पीडितको व्यवस्थापनमा ध्यान देओस् ।’

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने उनले सुझाव दिएका छन् ।

‘हिजोको दिनमा राजाले धर्मको नाममा पैसा बाडेर धर्मको प्रचारप्रसार गर्ने गरेका थिए । तर धर्म निरपेक्षता गणतन्त्रमा पनि कम्युनिष्ट सरकारले चाडपर्वको नाममा खर्च गर्नु आवश्यक छैन्’ साहले भने, ‘ब्रह्मबाबको पुजा हुँदा, दुर्गाभवानीको पुजा गर्दा होस वा बोलबम कवरिया लगायतका पुजा एवं चाडपर्वमा सर्वसधारणले चन्दा उठाएर धुमधामका साथ पुजापाठ गर्छन् । गणतन्त्रमा कम्युनिष्ट सरकारले बाढीपहिरो पीडितलाई उद्धार गर्न सक्दैन तर अर्बौरकम चाडपर्वको नाममा अतिरिक्त तलबभत्ता वितरण गर्दा यो सरकारबाट सर्वसधारण नागरिकले के आश गर्ने ?’

सरकारलाई बाढीपहिरोको पूर्वसूचना हुँदा हुँदै पनि सयौं सर्वसधारण मान्छेले ज्यान गुमाएको र पीडितहरुले गुहार माग्दा समेत सरकारले उद्धार गर्न नसकेको उनले बताए । त्रिशुलीमा मान्छे सहित बस बेपता भएको महिनौ वित्दा समेत सरकारले त्यसको खोजतलास गर्न नसकेको उनले बताए ।

‘सरकार पूर्णरुपमा असफल भईसकेको छ । राज्यविहिनताको अवस्था छ । सरकार छ भन्ने कुराको अनुभुति सर्वसधारण नागरिकले महशुस गर्न सकेका छैनन्’ साहले भने, ‘यात्रुसहित दुईवटा बस त्रिशुलीमा खसेको महिनौ भईसक्दा सरकारले पत्ता लगाउन सकेन् । बाढीपहिरो पीडितको उद्धार गर्न पुगेका सुरक्षाकर्मी नै सुरक्षित छैनन्, ज्यान गुमाउन बाध्य छन् । सरकारको तयारी फितलो भएकै कारण यस्तो भएको हो ।’

बाढीपहिरो पीडितको उद्धार गर्न असफल भएको सरकारले उनीहरुको व्यवस्थापन गर्नमा समेत असफल देखिएकाले कुर्सीमा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएकाले राजीनामा गर्न उनले सुझाव दिए । देशका नागरिक बाढीपहिरोले ज्यान गुमाईरहेको, घरबार बिहिन भईरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली विदेश शयरमा रमाउनु देश र जनताका लागि लज्जाको बिषय भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नालायकको संज्ञा दिँदै तत्काल पदबाट राजीनामा दिन सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्