Logo

स्वास्थ्य बिमाका क्षेत्रका समस्या समाधान गर्न सुझाव समिति गठन



काठमाडौँ, १३ असोज । स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन समिति गठन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट डा शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको हो ।

समितिमा विकास अर्थशास्त्री एवं गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले, वरिष्ठ मुटु शल्यचिकित्सक प्रा डा भगवान् कोइराला सदस्य हुन् । समितिमा अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव पनि सदस्यका रुपमा रहेको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख र निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिलाई पनि समितिको सदस्य तोकिएको छ ।

स्वास्थ्य बिमाका क्षेत्रमा सुधार गरेर आमनागरिकको पहुँचमा ल्याउन समितिले उचित सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए । समितिलाई विद्यमान स्वास्थ्य बिमाको कानुनी अवस्था, सेवा प्रवाहलगायत विषयका सबल र दुर्बल पक्षबारे विश्लेषण तथा सुझावसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको उनले जानकारी दिए ।

यसैगरी, नेपालमा हाल कार्यान्वयनमा रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीबाट प्रवाह हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत लैजान सुझावसहितका उपाय सुझाउन पनि भनिएको छ । समितिले स्वास्थ्य बिमा कार्यक्रममा सबै नागरिकको आबद्धता बनाउन सम्भाव्य उपायबारे सुझाव दिने अपेक्षा गरिएको छ । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य बिमाको रकम रु पाँच लाखसम्म पु¥याउने उल्लेख छ ।

स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित समितिको पहिलो बैठक पनि बसेको छ । आफूहरुले स्वास्थ्य बिमाका अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययनसँगै देशको अभ्यास र कठिनाइहरुका बारेमा विस्तृत अध्ययन गरेर सुझाव दिने समितिका संयोजक आचार्यले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्