Logo

‘टी ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित



क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

जितका लागि १७७ रनको लक्ष्य पाएको ओमानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे ।

ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट झारे । रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको योगफल बनाएको थियो ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ४० रनको योगदान दिए । उनले १७ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ४० रन बनाएका हुन् । त्यसैगरी कुशल मल्लले ३० रनको योगदान दिए । उनले २६ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३० रन बनाए । आसिफ शेख र अनिल शाहले समान २७/२७ रन बनाए । आशिफले २२ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए । अनिल साहले २१ बलमा तीन चौका र एक छक्काको मद्दतमा २७ रन जोडे ।

त्यस्तै कुशल भुर्तेलले २० रन बनाउँदा कप्तान रोहित पौडेल दुई रनमा आउट भए । बलिङतर्फ ओमानका अकिब इलियासले सर्वाधिक तीन विकेट लिए भने सकिल अहमेद, फैयाज बुट्ट र जिशान मक्सूदले समान एक–एक विकेट लिए ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । सिरिजमा नेपालको यो दोस्रो र ओमानको पहिलो खेल थियो । नेपालले अब तेस्रो खेल मङ्गलबार क्यानडासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्