Logo

सीधा कुराका प्रकाशक र सम्पादकलाई कैद सजाय सुनाउने सर्वोच्चको फैसलाप्रति समाजवादी प्रेस सङ्गठनको आपत्ति



काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस सङ्गठनले सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको छ ।

सोमबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्ति जारी गर्दै समाजवादी प्रेस संगठन नेपालका संस्थापक सदस्य नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल एवं सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सञ्चारमाध्यमका कारण अदालतमात्रै हैन, कोही व्यक्ति, समूह वा समुदायको मानहानी हुने कुरा जायय होइन । त्यसमाथि सर्वोच्च अदालतका सम्माननीय न्यायाधीश तथा न्यायाधीशहरुलाई लक्षित गरी तयार पारिएको नक्कली अडियो प्रकरण आफैंमा खेदजनक छ । यद्यपि, त्यस मामिलामा गरिएको कारवाहीको प्रक्रिया र राखिएको नियतले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनलाई गम्भीर रुपमा झस्काएको छ’ उनले भनेका छन् ।

नक्कली अडियो उत्पादक व्यक्तिमाथि हदैसम्मको दण्ड हुनुपर्ने कुरामा संगठनको विमति नरहेको तर, पत्रकार आचारसंहिताको अनुगमन गर्नका निम्ति राज्यले स्थापना गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सीधै सर्वोच्च अदालते पत्रकारलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत नभएको संगठनको जिकिर छ । संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरुलाई समाचार लेखेकै कारण गरिएको यो कैदको संगठनले भत्र्सना गरेको छ।

‘त्यसमाथि ‘माफी मागेमा सात दिनसम्म सजायँ हुने’ जस्तो शव्दको प्रयोग गरी तल्लोस्तरको मोलमालाईमा अदालत उत्रिनु हाम्रो कल्पनाभन्दा बाहिरको विषय हो ।हामी सर्वोच्च अदालतलाई आफ्नो त्रुटीपूर्ण आदेश पुनरावलोकन गर्न जोडदार माग गर्दछौं’ उनले भनेका छन् ।

ढुंगाना ‘सिधाकुरा’ अनलाइनका कार्यकारी सम्पादक र कँडेल प्रकाशक तथा प्रस्तोता हुन् । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो । यसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई  जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । 



प्रतिक्रिया दिनुहोस्