Logo

मधेस प्रदेशका प्रमुखसमक्ष अख्तियारको प्रतिवेदन पेस



धनुषा, १४ असोज । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

कार्यालयका प्रमुख सह-सचिव रामबहादुर कुरुवाङ्गले आज प्रदेश प्रमुख भण्डारीलाई प्रदेश प्रमुखको सचिवालय मधेस भवनमा पुगेर आयोगको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन हस्तान्तरण गरेको हो ।

प्रदेश प्रमुख भण्डारीले प्रतिवेदन ग्रहण गर्दै सुशासनको अभावमा समृद्ध नेपाल तथा सुखी नेपालीको अभियान पूरा गर्न नसकिने भएकाले सुशासन र आर्थिक पारदर्शीता कायम गराउनमा अख्तियारको भूमिका महत्त्वपूर्ण भएको बताए ।

उनले अख्तियारको प्रतिवेदनमा प्रदेशबाट अनियमिततासम्बन्धी बढी उजुरी परेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आर्थिक अनुशासन तथा पारदर्शीता स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरे ।

अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा मधेस प्रदेशका मात्र १० हजार उजुरी रहेको परेको उल्लेख गर्दै कुल उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसम्बन्धी भएको जानकारी दिए ।

जिल्लागत रुपमा सबैभन्दा बढी उजुरी धनुषाको रहेको जनाइएको छ । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा धनुषा जिल्लाबाट मात्रै एक हजार एक सय वटा उजुरी परेका छन् । साथै सबैभन्दा कम सर्लाहीबाट छ सय नौ वटा उजुरी परेको जनाइएको छ ।

प्रदेशको आठ जिल्लाबाट उक्त आवमा छ हजार तीन सय २४ उजुरी दर्ता भएका छन् । नयाँ दर्ता भएका उजुरी र पुरानो उजुरी गरेर आठ हजार पाँच सय २९ रहेकामा छ हजार चार सय ७२ वटा फछ्र्यौट भएका कार्यालयको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्