Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित हुँदै



काठमाडौं, भदौ १६ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको छ।

साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा ७ भदौदेखि स्थगित हुँदै आएको थियो। तर, १५औं महाधिवेशनको कार्यतालिका अर्को बैठकले निर्णय लिने र संविधान संशोधन मस्यौदा समिति बनाउने शीर्ष नेतामा मोटामोटी सहमति बने पछि आज बैठक बस्न लागेको हो।

महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ भने अर्का महामन्त्री शर्माले पेस गरेको एक्जिट पोलिसी संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी छ।

शीर्ष तहमा टुंगिन बाँकी रहेका विषयमा सहमति खोज्न केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्