Logo

‘नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा’



वीरगञ्ज (पर्सा), १६ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आज वीरगञ्जस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृनिकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

“यो रङ्गशाला बनाउनुपर्ने दुई कारण छन्”, उनले भने, “मधेश प्रदेशको सबैभन्दा पुरानो र ठूलो रङ्गशालाका हो । साथै ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले आवश्यक पूर्वाधारका लागि पनि रङ्गशाला निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।”

मन्त्री चौधरीले ११आँैँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले रङ्गशाला बनाउनुपर्ने अवस्था रहेको जिकिर गरे । “मेरो कार्यकालमा कुनै पनि सर्तमा नारायणी रङ्गशाला बन्नेछ । प्रतियोगिता हुनु अगावै खेल अभ्यासका लागि पनि पूर्वाधार आवश्यक पर्दछ”, उनले भने, “दातृनिकाय तथा सरोकार भएकासँग समन्वय र सहकार्य गरेर रङ्शाला निर्माण गर्नेछौँ ।”

मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा नारायणी रङ्गशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेकाले दातृनिकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

“दातृनिकायले नारायणी रङ्गशालाको विषयमा चासो देखाइरहनुभएको छ”, उनले भने, “रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० उपलब्ध गराउन भनिरहनुभएकाले उहाँहरुसँग समन्वय गरी काम गरिरहेको छु । यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउनेछौँ ।”

मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आवको बजेटमा रङ्गशाला निर्माण गर्न बजेट विनियोजन नगरेको स्पष्ट पारे । “खेलकुद मन्त्रीको शपथ खाएसँगै मधेश प्रदेशका रङ्गशाला निर्माण प्रक्रियाबारे युवा तथा खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायत सरोकार भएकासँग छलफल गरेका थियौँ”, उनले भने, ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले रङ्गशाला निर्माणलाई कसरी प्रभावकारी रुपमा अघि बढ्न सकिन्छ भनेर सुझाव पनि लिएका छौँ ।”

युवा तथा खेलकुदमन्त्री चौधरीले मधेश प्रदेशका रङ्गशाला मर्मतसम्भारका लागि केहीदिअघि अर्थमन्त्री विष्णु पौडेलसँग पनि आवश्यक बजेट उपलब्ध गराइदिनका लागि आग्रह गरेको बताए । “अर्थमन्त्रीले पनि रङ्गशाला मर्मतसम्भार गर्न आवश्यक स्रोत जुटाउन सहजीकरण गर्ने बताउनुभएको छ”, उनले भने ।

रङ्गशालाको अवलोकलनका क्रममा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले नारायणी रङ्गशाला निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्थापनका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिए । “प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर रङ्गशाला निर्माण अघि बढाउने छौँ”, उनले भने ।

वीरगञ्जमा नारायणी रङ्गशाला विसं २०४२ मा निर्माण गरिएको थियो । नियमित मर्मतसम्भार र जीर्णोद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको छ । रङ्गशाला परिसरमा पानी जमेर पशुचौपाया पौडी खेल्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताउँछन् । उक्त रङ्गशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्