Logo

जर्मनीसँग नेपालको ‘हेल्थ डिप्लोमेसी’ मा भूमिका खेल्छु : प्रस्तावित राजदूत डा. रुपाखेती



काठमाडौं, १६ भदौ । जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले आफूले जर्मनसँग हेल्थ डिप्लोमेसीमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । आज (आइतबार) संसदीय सुनुवाईको क्रममा जसपा, नेपालका सांसद प्रकाश अधिकारीले चिकित्सकलाई सरकारले किन राजदूतमा सिफारिश गरेको हो ? भन्ने प्रश्नमा उनले कोभिडको महामारीको समयमा हेल्थ डिप्लोमेसीको आवश्यकत्ता औंल्याईएको विषयलाई प्रकाश पार्ने क्रममा यस्तो बताएका हुन् ।

डा. रुपाखेतीले जर्मनीले नेपाललाई ठूलो सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा त्यो सहयोगलाई अझै बढाउने विश्वास दिलाए । सो क्रममा उनले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट निकाल्नका लागि आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए । त्यसको लागि नेपालबाट युरोपियन मुलुकमा रहेका अन्य राजदूतहरूसँग पनि समन्वय गरेर भूमिका खेल्ने विश्वास दिलाए ।

सो क्रममा उनले नेपाल–जर्मन उच्चस्तरीय भ्रमणको माध्यमबाट राजनीतिक सम्बन्धलाई थप सुदृढ र घनिभूत बनाउन प्रयास गर्ने पनि विश्वास दिलाएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जर्मनी भ्रमण उपयुक्त समयमा गराउन पहल तथा समन्वय गर्ने योजना सुनाएका छन् ।

नेपालको संघीय संसद् र जर्मनीको संघीय संसदबीच आपसी सम्बन्ध विस्तार गर्न, अनुभव आदानप्रदान गर्न र नेपालको हित प्रवद्र्धन गर्न नेपाल जर्मन संसदीय मैत्री समूह निर्माण गर्न पहल तथा समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

जर्मनीसँग नेपालको व्यापार घाटा १० मिलियन यूरो रहेको उल्लेख गरेका रुपाखेतीले पछिल्लो समय जर्मनीसँग चुलिँदै गएको व्यापार घाटा कम गर्नको लागि नेपालबाट निर्यातमा ध्यान दिईने बताएका छन् । यस्तै, उनले जर्मनीबाट नेपालमा थप लगानी भित्र्याउनेपनि योजना सार्वजनिक गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्