काठमाडौँ, १७ भदौ । नेपाल पत्रकार महाङ्घका पूर्वसभापतिहरुले सत्यतथ्य र नागरिकलाई पहिलो सूचना दिने कार्यमा राष्ट्रिय समाचार समिति (रासस)को प्रभावकारी भूमिका हुनुपर्ने आवश्यकता औँल्याएको छ ।
राससले औपचारिकरुपमा आजदेखि सुरु गर्न लागेको नेपाली भाषामा २४सै घण्टा समाचार सेवाबारे शुभकामना दिँदै उनीहरुले आफ्नो विश्वसनीयता जोगाउने, पहिलो सूचना दिने र सेवालाई निरन्तरता दिने चुनौती सामाना गर्ने प्रविधि, जनशक्ति र स्रोत साधन व्यवस्थापन गर्न सुझाव दिए ।
विश्वसनीयता वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्छः हरिहर विरही
चौबीस घण्टा सेवा प्रवाह गर्ने सङ्कल्पका लागि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासहित सम्पूर्ण परिवारलाई बधाई तथा शुभकामना छ । समाचार समिति सञ्चालन आफैँमा एउटा चुनौतीपूर्ण काम हो । आज कतिपय विकसित देशमा समेत कतै यो बोझ मानिएको छ भने कतै असान्दर्भिक ठानिएको छ । त्यसैले कति चर्चित समाचा समिति बन्द भएका छन् ।
यस अवस्थामा नेपालमा राससले आफ्नो इतिहासलाई निरन्तरता दिँदै सेवा विस्तार गर्नु एउटा साहसिक र चुनौतीपूर्ण काम हो । आजको मानिसमा सूचनाको भोग भने बढ्दो छ । सूचना मानिसको जीवनको अभिन्न अङ्ग बनेको छ । सूचना मानिसको प्रारम्भिक र नैसर्गिक अधिकारकारुपमा स्थापना भएको छ । व्यक्ति समाज र राष्ट्रले सूचनाको महत्वलाई आत्मसात गर्ने महत्व बढदै गएको छ । तर सही सूचना प्रवाहको अभावमा सञ्चार माध्यमले धर्म निर्वाह गर्न सक्दैनन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै निर्माण भएको संविधानले सूचना र सञ्चार क्षेत्रलाई उच्च महत्व दिँदै प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । प्रेस जगत्ले राष्ट्र निर्माणको अभियानमा महत्वपूर्ण योगदान दिने अपेपक्षा गरिएको छ । समाजको परिवर्तन तथा प्रतिभा र क्षमताको विकास एवं राष्ट्रियताको सुदृढीकरण र व्यक्तिलाई अधिकार र कर्तव्यप्रति सजग तुल्याउन सञ्चार माध्यमले निर्वाह गरेको भूमिका उत्प्रेरक रहने गरेको छ । त्यही कारणले पनि सञ्चार माध्यमबाट समाज र राष्ट्रले धेरै अपेक्षा गरेको छ ।
राष्ट्रिय समाचार समिति सत्य समाचारको प्रतीक बनेको छ । पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको यसका आफ्नै सीमा होलान् । यद्यपि, यसको सीमा वा स्वतन्त्रता पहिलेभन्दा केही फराकिलो भएको देखिन्छ । यद्यपि ती पर्याप्त छैनन् । यसलाई सरकारको कैदमा रहेसम्म यसले खुला आकाशमा पखेटा फिजायर उड्न सम्भव हुन्न । तसर्थ यसलाई विश्वसनीयता वृद्धि गर्नेतर्फ सोच्न आवश्यक छ ।
स्वतन्त्र नभएको माध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहन्छ । सरकारी नियन्त्रणको छायाले गर्दा राससका पत्रकारहरुले गरेको परिश्रम, सङ्घर्ष र क्षमता परिचालन ओझेलमा परेको अनुभूति हुन्छ । विश्वसनीयताको अभाव रहेमा सही समाचार पनि निष्प्रण बन्छ । तसर्थ, राससको सेवा विस्तारसँगै यो पक्ष मापनमा सुधार हुनसके हाम्रो देशको एक मात्र समाचार समिति अन्यन्त्रका लागि पनि उदाहरणीय बन्न सक्छ । मेरो हार्दिक शुभकामना छ ।
समाचार समितिको कुनै ‘डेडलाइन’ हुन्नः सुरेश आचार्य
विश्वमा ‘एजेन्सी जर्नालिजम’ नै यस्तो क्षेत्र हो जहाँ ‘डेडलाइन’ नै हुँदैन । त्यो नै एजेन्सी जर्नालिजमको मर्म हो । त्यसैले एजेन्सीले २४ घन्टा सेवा दिन थाल्यो भन्नु आफैँमा आश्चार्य होइन । यसअघि नै गरिनु÷भइरहनु पथ्र्यो । जुन राससले अहिले सुरुवात ग¥यो, यो आवश्यक छ । हामी कहाँ एउटै मात्र चुनौती स्रोत साधन जहिले पनि सीमित रहने कारणले निरन्तरताको प्रश्न नउठोस् भन्ने हो । किन भने राज्यलाई राति सूचना नचाहिन सक्छ, तर एजेन्सीले दिने सूचना कुनै मुलुक विशेष र भूगोलको सीमाभित्रका लागि मात्र हुँदैन ।
अहिले सूचना प्रविधिको क्षेत्रमा भूगोलको कुनै सीमा छैन । विश्वव्यपीकरणको युग सुरु हुँदै गर्दा मानिस अर्को देशमा पुगेको अवस्था छ । मानवीय स्वभाव के हुन्छ भने, आफ्नो देशको खबर जहाँ रहेबसे पनि पाउन चाहन्छ । बसिरहेका ठाउँमा मेरो देशमा दिन हुनसक्छ भने अर्कोमा रात । त्यसकारण र सूचना प्रविधिका हिसाबले पनि आवश्यक छ । दोस्रो, मानिस यसरी विश्वव्यापी भएर गयो, भौतिक हिसाबले विश्वको हरेक कुनामा पुगेको छ । त्यसकारणले पनि २४ घण्टा समाचार सेवा आवश्यक थियो । राससले सुरु गरेको सेवा अत्यन्त राम्रो छ ।
समाचार सरकारको नभइ नागरिक चासोका विषयमा बन्नुपर्छ । सरकारी स्वामित्वको समिति भएकाले राससको प्राथमिकता सरकारको समाचार पर्नुपर्ने स्वभाविक होला, तर ‘न्यूज एजेन्सी’ भनेर मानिसले बुझ्दा त्यो भनेको नागरिकको सूचना दिने र पहिलो सूचना दिने हुनुपर्छ । त्यो नहुने हो भने एजेन्सीको खास अर्थ रहन्न ।
पहिलो सूचना दिने नाममा मानिसलाई ‘मिसलिड’ हुने सूचना दिइनु हुन्न । गलत सूचना दिइयो भने एजेन्सीको विश्वसनीयतामाथि प्रश्न आउँछ । त्यसैले आफ्नो विश्वसनीयता जोगाउने, पहिलो सूचना दिने र यसलाई निरन्तरता दिने चुनौती सामाना गर्ने जनशक्ति, स्रोत साधन जरुरी छ, त्यो राससले व्यवस्थापन गर्न सकोस् । शुभकामना ।
राज्यको नेतृत्वमा राससलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छः गोविन्द आचार्य
सरकारी स्वामित्वमा रहेर छ दशकभन्दा बढी समयदेखि निरन्तर सेवा दिँदै आएको राससले आफ्नो सेवालाई २४ घण्टा विस्तार गरेकामा खुसी लागेको छ । रासस दूरदराजका आवाजविहीन जनताको आवाज बन्न पुगेको छ । अरु विभिन्न समाचार माध्यमका बाध्यता र सीमा छन् । साधन स्रोतको अभाव छ । उनीहरुले सबै ठाउँमा संवाददाता खटाएर काम गर्न नसक्न सक्छन् ।
तर राससले दूरदराजसम्म पुगेर जनताका समस्या खोजी गरी राज्य सामु ल्याउन सक्छ । अहिले पनि त्यहीअनुरुप काम पनि गरिरहेको छ । यसअर्थमा राससले सही सूचना दिने काम गरेको छ । अन्य सञ्चार माध्यम जसका समाचारदाता छैनन्, उनीहरुले पनि राससकै समाचार प्रयोग भएको देखिन्छ । कतिपय ग्राहक नभएका सञ्चार माध्यमले पनि राससकै समाचार प्रयोग गरिरहेको भेटिन्छ ।
कतिपयले त शीर्षक र भाषा बदलेर पनि राससका समाचार छाप्ने गरेको पाइन्छ । समग्रमा राससको भूमिका महत्वपूर्ण छ । २४सै घण्टा सेवा प्रवाह गर्नाले जनताका आवाज एक मिनेट पनि नरोकिने परिस्थिति बनेको छ । निरन्तर सूचना जनतामा प्रवाह हुने भयो । जनताले सूचना तत्क्षण नै प्राप्त गर्ने भए । यो खुसीको कुरा बनेको छ । राससप्रति तुलनात्मकरुपमा केही विश्वास पक्कै पनि छ ।
राससका केही बाध्यता छ, राज्य र सरकारबाट केही बजेट ल्याउनुपर्ने छ, साधनस्रोत सरकारले रकम दिए जुटाउने नत्र नसक्ने अवस्था छ । रासस सरकारको मात्र नभई राज्य र जनताको सम्पत्ति हो । यसलाई स्वयत्तता प्रदान गर्न संसद् मातहत राख्ने कि भन्ने प्रश्न उठेको छ । बजेट बन्ने बेलामा संसद्मार्फत छुट्याउने कार्यले आर्थिकरुपमा पनि आत्मनिर्भर गर्दै लैजानुपर्छ भन्ने एक खाले मत छ ।
राससका थुप्रै ठाउँमा भएका जग्गा र स्रोत साधनलाई उत्पादनमुलक काममा लगाउनुपर्छ । अर्को पक्ष भनेको स्रोतको सुनिश्चिता राज्यले गर्नुपर्छ । हरेक पटक बजेटका लागि हात फैलाउनुपर्ने, सरकारको दयाले चल्नुपर्ने जस्तो अवस्था अन्त्य गरिनुपर्छ । समाचारमा राज्यले आफैँले प्रत्यक्ष निगरानी गरेरभन्दा नीतिगतरुपमा राज्यले नेतृत्व गरेर स्वतन्त्रपूर्वक काम गर्न पाउन वातावरण बनाउनुपर्छ ।
साधनस्रोतको अभाव हुन दिनुहुन्न । रासस स्वयम्ले प्रविधिमा विश्वले मारेको फड्कोबाट अनुशरण गरी भिडियो सेवालाई समेत विस्तार गरी चुस्त तुल्याउनुपर्छ । राससलाई परम्परागत ढङ्गबाट माथि उठाउन विश्वका अरु समाचार समितिका जस्तै सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउँदै लैजानुपर्छ । नयाँ प्रविधिसँग अभ्यस्त गर्ने कुरामा सबैले राससलाई सहयोग पु¥याउनुपर्छ ।
लोकतान्त्रिक मुुलुकमा पनि समाचार संस्था हुन्छन्, त्यसलाई राज्यले स्वतन्त्रता र स्वायत्तता प्रदान गरेजस्तै राससलाई पनि राज्य र सबै सरोकारवाला पक्षको पनि साथ र सहयोग आवश्यक पर्छ । समाचार संस्था चाहिन्छ ।