काठमाडौँ, १७ भदौ । राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार समिति (रासस)ले स्थापनाको ६३ वर्षको आरोह–अवरोह पार गर्दै आफ्ना सेवालाई समयसापेक्ष सुधार, छिटो, छरितो र प्रविधियुक्त बनाउँदै आएको छ ।
विसं २०१८ मा काठमाडौँको नयाँसडकको एउटा कोठाबाट सुरुआत भएको राससको सेवा अहिले सुविधासम्पन्न भवनबाट सञ्चालन भइरहेको छ । राससले आफ्नो अविछिन्न यात्रामा समाचार सामग्रीका विविध आयामलाई समयसापेक्ष बनाउँदै लगेको छ ।
आजको डिजिटल युगमा आफूलाई समयानुकूल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न राससले हरसम्भाव प्रयास गरिरहेको छ । ‘कन्टेन्ट’ सुधार, समाचारमा गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरण गर्दै रासस अघि बढेको छ । यसै क्रममा आफ्ना सेवाग्राहीको मागलाई सम्बोधन गर्न राससले यही भदौ ११ गतेदेखि परीक्षणका रूपमा नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गरेको छ ।
यस कार्यप्रति पत्रकारिताजगत्का विज्ञ सरोकार भएकाहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । यसै सन्दर्भमा नेपाल पत्रकार महासङ्घका पूर्वनेतृत्वकर्ताहरूले राससले सुरुआत गरेको सेवा समाचार एजेन्सीको सान्दर्भिकता पुष्टि गर्ने महत्वपूर्ण कार्य रहेको भन्दै यसलाई आगामी दिनमा थप परिस्कृत गरेर लैजानुपर्ने प्रतिक्रिया दिएको छ ।
महासङ्घका तत्कालीन सभापति तारानाथ दाहालले राससले समाचार सेवालाई चौबिसै घण्टा विस्तार गरेर समाचार एजेन्सीको सान्दर्भिकतालाई पुष्टि गरेको प्रतिक्रिया दिए । “समाचार एजेन्सीको सेवा डेटलाइनमा हुँदैन, यसको सेवा सधैँ खुला हुनुपर्छ । समाचार प्राप्त हुनासाथ सम्प्रेषण गर्नुपर्ने हुन्छ”, उनले भने, “लामो इतिहास बोकेको हाम्रो समाचार समितिले पनि आवधिक सेवालाई छाडेर चौबिसै घण्टा समाचार प्रवाह गर्ने जमर्को गर्नु आफैँमा सकारात्मक र प्रशंसनीय कार्य हो ।”
तत्कालीन सभापति दाहालले इन्टरनेटको प्रयोग र सुविधाले चुनौती खडा गरिरहेको वर्तमान सन्दर्भमा समाचार समितिले कुनै पनि सूचना सामग्री प्राप्त गरेपछि पुनः पुष्टि गरेर चाँडो प्रवाह गरिनुपर्नेमा जोड दिए । “अहिले सुरु गरेको सेवालाई दिगो, प्रभावकारी र परिणाममुखी बनाइनुपर्छ”, राससका पूर्वअध्यक्षसमेत रहेका दाहालले भने,“कुनै पनि सञ्चारमाध्यमले छिटोभन्दा छिटो समाचार पाउन सकेको खण्डमा राससका उपभोक्ता सञ्चारमाध्यमलाई सहज हुनेछ । यसले समाचार समितिका साथै समग्र सञ्चार क्षेत्रको विश्वसनीयता र भरोसा बढ्छ ।”
समाचारको मुहानका रूपमा रहेको रासस देशको ऐना पनि हो । यसले पस्किने विषयवस्तु र सामग्रीले देशको समग्र प्रतिनिधित्व गर्छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले परिवर्तित समयानुसार मिडियाको विकासका लागि आवधिक बुलेटिनभन्दा नियमित बुलेटिन दिनु प्रशंसनीय भएको बताए ।
उनले राससको चौबिसै घण्टा समाचार सेवा दिने प्रयासले नेपाली मिडियाको विकास र विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरे । “अहिलेको मिडिया विश्वव्यापी भइरहेको सन्दर्भमा ‘ग्लोबल मिडिया’ लाई समेत ध्यानमा राखेर राससले सेवा सुरु गरेकामा म रासस परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु”, उनले भने, “यो सेवालाई दिगो, प्रभावकारी र व्यवस्थित बनाउन सकेमा वास्तवमै यसले मिडिया क्षेत्रमा नयाँ आयाम थप्नेछ ।”
पूर्वअध्यक्ष विष्टले सबैखालका मिडिया एउटै फर्ममा आइरहेको ‘मिडिया कन्भर्जेन्स’ र ‘डिजिटलाइज्ड’ भइरहेको अवस्थामा राससले अडियो भिडियो सेवा दिइरहेको र यसलाई सुधार्दै समाचारलाई विषयप्रधान बनाएर लैजानुपर्नेमा जोड दिए । “समाचारमा औपचारिकताको भार बढी छ, त्यसलाई विषय प्रदान बनाएर राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने खालका विषयवस्तुलाई प्राथमिकता दिनसके सबै मिडियाले राससलाई खोजीखोजी प्रयोग गर्ने अवस्था बन्छ”, उनले भने ।
महासङ्घकै पूर्वसभापति विष्णु निष्ठुरीले राससले समाचार सेवा विस्तार गर्ने कार्य प्रसंशनीय रहेको भन्दै यसको दिगोपनाका लागि ‘क्वालिटी’ र ‘क्वान्टिटी’ दुवैलाई ध्यान दिनुपर्ने सुझाव दिए । “राससले चौबिसै घण्टा सेवा विस्तार गरेपछि राष्ट्रिय मात्रै हैन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मिडियाहरूले पनि प्रयोग गर्नेगरी सामग्री उत्पादन र सम्प्रेषण गर्नुपर्छ”, उनले भने, “नेपालका मौलिक महत्वका विषयबारे रिपोर्टिङ गर्न सके विदेशी सञ्चारमाध्यम पनि लाभान्वित हुन्छन्, यसले समाचार समितिको गरिमा र महत्व पनि बढ्छ ।”
पूर्वसभापति निष्ठुरीले राससले विषयवस्तुमा समयसापेक्ष सुधार गरेर समाचार सेवालाई छिटो, छरितो र गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिए । राससले आफ्ना ग्राहकको रुचिअनुरूप समाचार उत्पादन र सम्प्रेषण गर्नेबारेमा विशेष ध्यान दिन उनले आग्रह गरे ।
राससले सुरुमा एउटा कोठाबाट समाचार यात्रा प्रारम्भ गरेर आफूलाई परिष्कृत गर्दै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको छ । देशको ‘न्युज बैङ्क’ र ‘मिडियाको पनि मिडिया’ का रूपमा राससले सञ्चारमाध्यमको माग र आवश्यकतालाई आफ्ना विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न निरन्तर गर्दै आइरहेको छ ।
नेपाली, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार बुलेटिनका अलावा पछिल्लो दिनमा राससले सेवालाई विविधीकरण गर्दै तस्बिर, श्रव्य, श्रव्य–दृश्य, विचार, आलेख तथा मातृभाषामा समाचार सेवा प्रवाह गरिरहेको छ ।