Logo

बालेन शाहले नेपाली समाज भाँडेको योगेश भट्टराईको आरोप (भिडिओसहित)



काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन शाहले नेपाली समाज भाँड्ने काम गरेको गम्भीर आरोप लगाएका छन् । उनले बालेन शाहले आफ्नो पार्टीको अध्यक्ष केपी शर्मा ओलीको बारेमा स्टाटस लेख्दैमा शाहको पपुलारिटी नबढ्ने बताएका छन् । आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले मेयर बालेन शाहलाई आफ्नो थानमा बसेर काम गर्न सुझाव दिएका छन् ।

उनले भने-“बालेनजीले जे गर्दै हुनुहुन्छ, ठीक छैन् । जे भन्दै हुनुहुन्छ, त्यो ठीक छैन् । उहाँलाई जनताले जुन थानमा राखेको हो, त्यो थानमा बसेर काम गर्नुपर्छ । उहाँ एउटा संवैधानिक हिसाबले तीन तहको सरकारमध्ये एउटा तहको सरकार हो, काठमाडौं महानगरको सरकार प्रमुख नै हो उहाँ । काठमाडौं महानगरपालिकाभित्रको प्रधानमन्त्री नै हो । उहाँले आफ्नो ठाउँमा बसेर काम गर्नुपर्छ । केपी ओलीलाई स्टाटस लेख्दैमा उहाँको पपुलारिटी बढ्ने होईन । उहाँले जे गर्दै हुनुहुन्छ, यो नेपाली समाजलाई भाँड्ने काम गर्दै हुनुहन्छ । त्यही नभाँड्नुहोस ।”

उनले मेयर शाहमाथि लाखौं युवाहरुको सपना जोडिएको भन्दै धोका नदिन सुझाव दिए । उनले भने,”तपाईंजत्तिको युवा मान्छे, तपाईंसँग हजारौं, लाखौं युवाहरुको सपना जोडिएको छ र त तपाईंले जित्नुभयो । तर, अहिले तपाईं जे गर्दै हुनुहुन्छ, ती युवाहरुको सपनामाथि धोका दिँदै हुनुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्