Logo

बडिगाडमा ‘डाइलाइसिस’ सेवा सञ्चालनको तयारी



गलकोट (बागलुङ), १९ भदौ । बडिगाड गाउँपालिकाले मिर्गौलाको बिरामीका लागि डाइलाइसिस सेवा सुरु गर्ने भएको छ । यसका लागि बडिगाड –५ ग्वालीचौरमा रु १८ करोडका लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भइसकेको छ । नवनिर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सेवा सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको जनाइएको छ ।

यसबाट विशेषगरी गलकोट र ढोरपाटन नगरपालिकासहित बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुनेछन् । धवलागिरि अस्पतालमा मात्रै सो सुविधा रहेकामा बडिगाडमा पनि डाइलाइसिस सेवा सञ्चलनसम्बन्धी बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डाइलाइसिस सेवा दिने विषयमा सम्झौता भएको बडिगाड गाउँपालिकाले जनाएको छ ।

सम्झौताअनुसार बडिगाड अस्पतालमा प्रत्योपण केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मी परिचालन एवं अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने जनाइएको छ ।

यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताए । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्