Logo

गाजा युद्धविराम सम्झौताको समय आएको अमेरिकी भनाइ



जेरुसेलम, १९ भदौ । संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेका समय इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका छन् ।

नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका छ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बावजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेपछि मिलरको यो भनाइ आएको हो ।

मिलरले भने, “यो सम्झौतालाई अन्तिम रूप दिने समय हो ।”

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले गाजाबाट मृत अवस्थामा फेला परेका छ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् ।

सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशको बावजुद नेतन्याहूले आफू ‘दबाबमा नझुक्ने’ बताएका छन् ।

तेल अभिभका प्रदर्शनकारी जोनाथन इदानले भने, “इजरायली प्रधानमन्त्रीले हमाससँग हाम्रा बन्धकहरूलाई जीवितै फर्काउने सम्झौता गर्ने हाम्रो सम्भावनालाई मारिरहनुभएको छ ।”

“उहाँ बाँच्न चाहेको एउटै मात्र कुरा उहाँको राजनीतिक जीवन र गठबन्धन हो,” २६ वर्षीय इदानले एएफपीसँग भने ।

इजरायली प्रधानमन्त्रीले ‘युद्धको उद्देश्य प्राप्तिका लागि’ गाजा–इजिप्ट सीमामा रहेको फिलाडेल्फिया करिडोरको नियन्त्रण आवश्यक रहेको बताएका छन् । इजिप्टले गाजाको सीमा हमासको हतियारका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गर्दै नेतन्याहुले इजरायली जनमतलाई विचलित पार्न र युद्धविराम सम्झौतामा पुग्न बाधा पु¥याउन खोजेको आरोप लगाएको छ ।

साउदी अरबले कायरोको समर्थन गर्दै ‘फिलाडेल्फिया करिडोर’का सम्बन्धमा इजरायली वक्तव्यको कडा निन्दा र भर्त्सना’ गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताकारहरूसँगको भेटमा नेतन्याहुले बन्धक सम्झौताका लागि पर्याप्त काम गरिरहनुभएको ‘छ’ कि ‘छैन’ भन्ने प्रश्नको जवाफमा ‘छैन’ भन्ने प्रतिक्रिया वार्ताकारहरूले दिएका थिए ।

हमासले लामो समयदेखि गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको माग गर्दै आएको छ र इजिप्टका अधिकारीहरूले सीमामा इजरायली सेनाको उपस्थितिप्रति आपत्ति जनाउँदै आएका छन्।

“नेतन्याहुले गाजालाई अनिश्चितकालका लागि केही हदसम्म कब्जा गर्न चाहेको देखिन्छ र अब उहाँले यसलाई अझ खुलेर भनिरहनुभएको छ,” विश्लेषक मैरव जोन्सजेनले एएफपीसँग भने।

इजरायलले सन् १९६७ मा गाजा पट्टीकब्जा गरेको थियो र सन् २००५ सम्म त्यहाँ सैनिक र बसोवास कायम राखेको थियो । यो पछि हटेको थियो तर नाकाबन्दी लगाइएको थियो र हालको युद्धको सुरुवातदेखि नै पूर्ण घेराबन्दी गरिएको छ।

इजरायलमाथि दबाब बढाउँदै बेलायतले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा हतियारको प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ रहेको भन्दै केही हतियार निर्यातमा रोक लगाउने बताएको छ ।

गाजामा आफ्नो आक्रमण जारी राख्दा इजरायली सेनाले बुधबार इजरायली सेनाले जोर्डनसँग सीमा जोडिएको देशको पूर्वबाट इजरायलमा प्रवेश गर्ने क्रममा एउटा मानवरहित विमानलाई रोकेको दावी गरेको छ ।

इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध चलाएको अभियानका कारण गाजामा कम्तीमा ४० हजार ८१९ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।

इजरायलको दक्षिणी क्षेत्रमा गत अगस्ट ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो र मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गत नोभेम्बरमा एक सातालामो युद्धविरामका क्रममा दर्जनौँ व्यक्तिलाई रिहा गरिएको थियो ।

हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदाले सोमबार इजरायलले उक्त क्षेत्रमा आफ्नो सैन्य दबाब कायम राखेमा बाँकी बन्धकहरू ‘कफिन’ मा फर्कने बताएका छन्।

गाजा भग्नावशेषमा परेको र त्यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश कुनै न कुनै रूपमा विस्थापित भएको र प्रायः साँघुरो र अस्वस्थ्यकर अवस्थामा शरण लिइरहेको कारण रोग फैलिएको छ ।

गाजामा २५ वर्षपछि पहिलो पटक पोलियोको संक्रमण पुष्टि भएपछि आइतबारदेखि खोप अभियान सुरु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार मध्य गाजामा एक लाख ६१ हजारभन्दा बढी बालबालिकाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । डब्लुएचओले छ लाख ४० हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ । रासस



प्रतिक्रिया दिनुहोस्