Logo

मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन उपराष्ट्रपतिको आग्रह



काठमाडौं, भदौ २१ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आ–आफ्नो मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी रहेको उल्लेख गरेका छन् ।

हरितालिका तीज र चौरचन (चकचना) को अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नेपाली समाजमा मनाइने विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाजले एकता, सद्भाव र सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

चारैतिर हरियाली र प्रकृति नै रमणीय देखिने समयमा मनाइने तीज अत्यन्तै उमङ्ग, उल्लास, आनन्द, प्रेम र मिलनको भाव एवं सन्देश लिएर आउँने गर्दछ । हरेक वर्षको भाद्र शुक्ल पक्षको तृतीयामा मनाइने यो पर्व हाम्रो धार्मिक श्रद्धा र पति–पत्निको प्रेमलाई प्रगाढ बनाउने त्योहार भएको उनले उल्लेख गरेका छन्।

कुमारी कन्याहरु पार्वती झै आफ्ना लागि शिव जस्तै मनोवान्छित वरको कामना गर्दछन । विवाहिताहरु भने पार्वती जस्तै आफूलाई सदा सौभाग्यवत्ती रहन तथा आफ्ना पतिबाट शिव जस्तै अनुराग प्राप्त गर्ने कामना गर्ने परम्परा छ ।

त्यस्तै चौरचन पर्व मधेसका जिल्लामा भदौ शुक्ल चौथीका दिन सूर्यास्तपछि हिन्दू व्रतालुहरुले फलफूल तथा विभिन्न मौलिक प्रसादसहित आस्था र निष्ठापूर्वक चौरचन पर्व मनाउने चलन रही आएको छ ।

यो पर्वमा धार्मिक विधि–विधान अनुसार चन्द्र देवको पूजा–उपासना गरिन्छ । गणेश चौठीको नामले समेत लोकप्रिय यो लोकपर्वमा पुरी, खीर, दही, नरिवल, केरा र मौसम अनुसारको फलफूल चन्द्रमालाई अघ्र्य दिएर यो पर्वको अनुष्ठान सम्पन्न गरिन्छ ।

उपराष्ट्रपति यादवले यो पर्वले परिवार र समाजमा आपसी भाइचारा, अपनत्वभाव र प्रेमभाव अभिवृद्धि गर्न सघाउने उल्लेख गर्दै धार्मिक मान्यताअनुसार भाद्र महिनाको शुक्ल पक्षको चतुर्थीमा चन्द्रमाको पूजा गर्दा साधकरश्रद्धालुलाई शारीरिक र मानसिक कष्टहरुबाट मुक्ति प्राप्त हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्