Logo

लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र जिम्मेवारी प्रशंसायोग्य : प्रधानमन्त्री ओली



काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा निजामती सेवाको भूमिका र जिम्मेवारी प्रशंसायोग्य रहेको बताएका छन् । २१ औँ निजामती सेवा दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको बताए ।

उनले भने, “नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको छ । निजामति प्रशासनले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदानले आन्दोलनहरु सफल भएका छन् ।’

प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पुर्‍याएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएकाले समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको बताए ।

कर्मचारीले आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे ।

निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ। यसअवसरमा प्रधानमन्त्री ओलीले निजामती सेवा दिवस समारोहमा ४० जना कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् ।

फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्