Logo

नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएका छन् । सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिएका हुन।

‘अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन । नतोड्नुपर्ने ठेक्का तोडिएको छ । हामीले हुनुपर्ने कामलाई अनावश्यकरूपमा अल्झाउन दिनु हुँदैन । सबैसँग कानुनसम्मत रूपमा सबैलाई समान व्यवहार हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हामीले यो, ऊ भनेर हेर्ने होइन, समयमा गुणस्तरीय विकासका काम हुनुपर्छ । समय थपेर पनि हुनै नसक्ने काम वा ठेकेदार छ भने जो सुकै भए पनि ठेक्का तोड्नतिर लाग्नुपर्छ । नियमन र अनुगमनका काम प्रभावकारी हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सवारी साधनको इम्बोष्ट नम्बर प्लेट उत्पादन र जडानका लागि भएको सम्झौतापछिका कार्यप्रगतिबारे अध्ययन गर्नुपर्ने अवस्था आएको पनि बताए । यातायात व्यवस्था विभाग र डेकाटुर आइडी कम्पनीबीच २०७३ सालमा सवारी साधनमा चिप्ससहितको मेशिन आरएफआइ रिड गर्न मिल्ने प्रविधिसहित जडान गर्ने सम्झौता भएको थियो ।

सम्झौताबमोजिम पहिलो चरणमा २५ लाख इम्बोष्ट नम्बर प्लेट उत्पादन हुनुपर्नेमा हालसम्म पाँच लाख मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ । उक्त इम्बोष्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने गरी सम्झौता भएकामा अब कुन भाषामा छाप्ने भन्ने निर्णय नेपाल सरकारबाट हुनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।



प्रतिक्रिया दिनुहोस्