Logo

प्रभु साहले किन गरे कर बहिष्कारको कुरा ?



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले दुई दलीय वा दश दलीय जुन ब्यवस्था भएपनि आखिर दलकै शासन हुने भएकोले यसलाई जनताको शासन भन्न नमिल्ने बताएका छन् । काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आज आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले शासन ब्यवस्थामा केहि सिमित दलाल र भ्रष्टहरुको हालिमुहाली रहेको टिप्पणी गरेका छन् ।

अहिले केही दल, त्यसमा पनि केही नेता, नेतामा पनि गुटका मठाधिशहरुले देशमा लुट मचाएका छन् । देशमा लुटेर बिदेशमा पैसा लुकाउनेहरुको शासन ब्यवस्थामा हालीमुहाली छ,´आजपा अध्यक्ष साहले भने,देशमा दुई दलिय ब्यवस्था होस् वा दश दलिय ब्यवस्था, तर शासन ब्यवस्थामा जनताको शासन हुनुपर्छ ।”

नेपाली नागरिकता परित्याग गरि बिदेशमा गएका गैरनेपाली नागरिकले नेपालबाट सम्पत्ति बेचेर लाने काम रोक्नुपर्ने उनले बताए । गैरनेपाली नागरिकको नेपालमा रहेका सम्पत्ति कब्जा गरि राज्यलाई बुझाउनुपर्ने उनले बताए ।

यस्तै, आजपा अध्यक्ष साहले भ्रष्ट, दलाल एंव लुटेरा सरकारलाई कर तिर्नु नपर्ने बताए । कर तिरेर भ्रष्टाचारीलाई पाल्न नसकिने बताउदै उनले भ्रष्ट, दलाल एंव लुटेरा सरकारलाई कर नतिर्न आह्वान गरेका छन् ।

लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र शासनसत्तामा आम जनताको सहभागिताका लागि तेस्रो जनआन्दोलनको उदघोषण गरेका आजपा अध्यक्ष साहले आजपाको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरु योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिए ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, बेथिति बढदै गईरहेको र सरकारको नेतृत्व सहित सरकारमा भ्रष्टहरुको बाहुल्यता रहेको र त्यसलाई रोक्दै आन्दोलनमा जानुको बिकल्प नभएको आजपाले निर्णय गरेको छ ।

यसैगरी आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

आजपा वरिष्ठ उपाध्यक्ष एंव संबिधान सभाका सदस्य तिलक थापामगरले भ्रष्ट एंव दलाल नेताहरुलाई सिंहदरबारबाट कठालो समातेर सडकमा ल्याउने उदघोष गरेका छन् ।

कार्यक्रममा आजपा उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह, सचिव नारायण श्रेष्ठ लगायतका नेताहरुको बिशेष सहभागिता रहेको छ ।

सोही कार्यक्रमका बिचमा विभिन्न पार्टी परित्याग गरि प्रबेन्द्र साह (सर्लाही), शाहमहम्मद देवान (रौतहट), प्रसुन साह (सप्तरी), अनुज बराल (उदयपुर) लगायतका युवा नेताहरु आजपामा प्रवेश गरेको आजपा स्थायी कमिटी सदस्य रन्जु साहले जनाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्