काठमाडौं, भदौ २३ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको नयाँ गीत ‘फूलको बास्ना सरी’ सार्वजनिक भएको छ । प्रहरीको पीडा र भावना मुखरित गरिएको गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन् ।
गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ । गायक राजेशपायल राईसहित मेलिना राई, बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ । गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्। रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा पौडेललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ ।
त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर विष्टले गर्नुभएको छ । गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा पवन सुसलिङको सम्पादन तथा छायांकन रहेको छ ।
गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ । त्यस्तै, गीतमा प्रहरीका दुःख र नागरिकप्रति खटिने चाहना तथा राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गरिएको छ । अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।